
जनस्वास्थ्य सरोकार, चितवन । चितवनमा ८ महिनामा झण्डै ६ सय जनामा क्षयरोग देखिएको छ । चालु आर्थिक वर्ष (०७९,८०) को फागुन मसान्त सम्ममा ५ सय ९२ जनामा क्षयरोग देखिएको हो ।
गत आर्थिक वर्षमा जिल्लामा १ हजार १९६ जनामा क्षयरोग देखिएकोमा ३१ जना बालबालिकामा सङ्क्रमण भेटिएको कार्यालयको तथ्याङ्क छ ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा सङ्क्रमितको सङ्ख्या ८ सय ९३ रहेको थियो । जस मध्ये १८ जना बालबालिका रहेका थिए भने चालु आर्थिक वर्षको फागुनसम्ममा ८ जना बालबालिकामा क्षयरोग देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दवाडीका अनुसार सङ्क्रमित बालबालिका मध्ये भरतपुर महानगरपालिकामा ३ जना, रत्ननगर नगरपालिकामा २ जना, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा १/१ जना रहेका छन् ।
१४ वर्ष मुनिका बालबालिकामा क्षयरोग देखिने क्रम बढ्दो रहेको उहाँले बताउनुभयो । बालबालिकामा बढी सङ्ख्यामा ग्रन्थि, पेट र आन्द्रा,गिदी र रगतमा क्षयरोग देखिने गरेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेको उहाँको भनाई छ । ६ महिना सम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने उहाँले बताउनुभयो ।
‘माइकोव्याक्टेरीयम टुबर क्लोसिस’ नामक कीटाणुका कारण यो रोग लाग्ने गर्दछ । उहाँले भन्नुभयो “अभिभावकलाई सर्ने खालको क्षयरोग भएमा बालबालिकामा पनि हुने गरेको छ । विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको सङ्क्रमण हुने गर्छ ।” दुवाडीले भन्नुभयो ।
क्षयरोग लाग्दा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनु मुख्य लक्षण रहेको दवाडीले बताउनुभयो ।
यो रोग लागेमा नियमित ६ महिना औषधि सेवन गर्नु, स्वास्थ्य कर्मीको निगरानीमा रहनु, समय समयमा खकार जाँच गर्न सके निको हुने उहाँले जानकारी दिनुभयो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
