
मेरो जन्म पूर्वी नेपालको धरानमा भएको हो । त्यहीको स्कूलमा विद्यालय तह (एसलसी)सम्मको अध्ययन गरेँ । बुबाको चाहना तीन छोरामध्ये जेठो छोरा डाक्टर, माइलो पाइलट र कान्छो इन्जियर बनुन् भन्ने थियो । म कान्छो छोरा भएकाले उहाँको चाहना ‘मैले इन्जियिनर पढिदियोस्’ भन्ने थियो तर डाक्टर भएँ ।
धरानबाट एसएलसी पास गरेपछि प्लस टु अध्ययनका लाथि भारतको मद्रास गएँ । त्यहाँ दुई वर्ष अध्ययन गर्दै गर्दा मेरो मनमा डाक्टर बन्ने चाहना पलायो । त्यसपछि नेपाल फर्किएर पोखराको मणिपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना भएँ । सन् २००४ मा एमबीबीएस पनि सकेँ । त्यसवेला नेपालमा एमडी (स्नातकोत्तर तह) अध्ययन नहुने भएकाले अमेरिका, बेलायत र अष्ट्रेलिया जाने लहड थियो । मैले पनि अमेरिका छनौट गरेँ ।
सन् २००६ मा अमेरिका गएँ मैले फेमिली मेडिसिनमा एमडी गरेको छु । ११ वर्षदेखि बोस्टनको म्यासेसिटीमा प्राइमेरी केयरमा प्राक्टिस गरिरहेको छु । क्रोनिक रोगहरूको उपचारमा जोड दिने मेरो चाहना हो । त्यसमा पनि डायबिटिज (मधुमेह) मा केन्द्रित भएर काम गरिरहेको छु ।
डायबिटिज विश्वको मृत्यु गराउने कारणमध्ये पाँचौं नम्बरमा रहेको छ । विश्वमा सात सय मिलियन जनता डायबिटिजबाट प्रभावित छन् । नेपालमा पनि प्रायः हरेक परिवारमा एक न एकजना डायबिटिजका बिरामी भेटिन थालेका छन् । तर, खानपान र जीवनशैलीमा सुधार गर्यो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।
मेरा दुई (छोरा सरिन र छोरी श्रीया) सन्तान छन् । श्रीमती सबिना मल्ल डेन्टिस्ट हुन् ।
डायबिटिज क्षेत्रमा काम गर्ने सोच
मैले जीवनको २६ वर्ष नेपालमै बिताएँ । कर्मभूमि अमेरिका भए पनि मेरो मातृभूमि हो नेपाल । त्यसैले डायबिटिजको क्षेत्रमा सहयोग गर्ने सोच बनेको हो । अमेरिकामा घर, जागिर, बालबच्चा सम्पूर्ण भए पनि म हुर्केको, बढेको र पढेको ठाउँ नेपालको ऋण चुक्ता गर्ने प्रयत्न गरिरहेको छु ।

जीवनको सफलता नै खुशी रहेछ । सम्पत्ति र पदले मात्र खुशी मिल्ने होइन । कुनै मानिसको जीवनमा परिवर्नन गर्न सकियो भने खुशी मिल्ने रहेछ ।
अमेरिकन नागरिक ओल्गामुरेले (हाल ९७ वर्ष) उहाँ ६५ बर्षको उमेरमा नेपाल भ्रमण आएको वेलामा खुट्टा भाँच्चिदा युवाहरूले गरेको सहयोगबाट प्रभावित भएर नेपाल युथ फाउन्डेसन खोल्नुभएको थियो । त्यसबाट प्रभावित भएर नेपालमा कसरी सहयोग गर्न सकिन्छ भनेर सन् २०१८ मा हामीले धनयोगा फाउन्डेसन खोल्यौं । धनयोगाको अर्थ सम्पत्ति र समृद्धि भन्ने हो । मेरो आमाको नाम धन र बुबाको नाम योगराज मास्के हो । उहाँहरूको सम्झनामा यो संस्था खोलिएको हो ।
एजुकेसन र हेल्थका कारण मानिस समृद्धि हुन्छ । हाम्रो भिजन डायबिटिजलाई कसरी हटाउने भन्ने हो । ‘क्योर डायबिटिज’ अभियानमा छौं । केही समयअघि नुवाकोटमा निःशुल्क मेडिकल क्याम्प आयोजना गर्यौं । बेलाबेलामा यस्ता कार्यक्रमहरु गरिरहन्छौं । हामीले डायबिटिज र यसले दाँत, आँखा, मिर्गौलामा पार्ने असरबारे पनि बिरामीको चेकजाँच गर्दछौं । ‘क्योर ब्लाइन्डनेस’ अन्तर्गत मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्छाैं ।
संस्थामार्फत ‘स्कलरसिप’ कार्यक्रम पनि चलाएका छौं । हामीले टुहुरा बालबालिकालाई यसैमार्फत पढाइरहेका छौं । साथै दृष्टिविहिन बालबालिकाहरुलाई पनि स्पोन्सर गर्दछौं । धरानको पुर्वाञ्चल ज्ञान चक्छु स्कुलमा २० जना दृष्टिविहिन बालबालिकाहरु अध्ययन गरिरहेका छन् । धनयोगा फाउन्डेसनको लक्ष्य सातै प्रदेशमा डायबिटिज सेन्टर खोल्ने रहेको छ । त्यसपछि भारतलगायतका देशमा पनि डायबिटिज सेन्टर खोल्दै जाने लक्ष्य छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

