डा.अर्चन शम्शेर राणा मिर्गौला रोग विशेषज्ञ हुनुहुन्छ । मार्क इन्टरनेशनल किड्नी सेन्टरका अध्यक्ष र ‘स्वस्थ मिर्गौला स्वस्थ जीवन’ अभियानका अभियन्तासमेत रहनुभएका डा. राणाको मिर्गौला रोग रोकथामसम्बन्धि आफ्नै शब्द…

कहाँ चुक्यो सरकार
मिर्गौला विफल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिसको व्यवस्था छ । सीमित मात्रामा भएपनि सरकारी अनुदानका कारण मिर्गौला प्रत्यारोपण न्युन शुल्कमा हुने गर्छ । तर मिर्गौला कसरी बचाउने भन्ने रोकथामतर्फ सरकारी निकायको ध्यान केन्द्रित हुन सकेको छैन । सामान खरीद गर्दा हुने कमिसनको फाइदा जस्तो यसमा नदेखेर पो हो कि ? हालै सरकारले १२० ओटा डायलाइसिस मेसिन खरिद गरेको छ ।
डायलाइसिस र प्रत्यारोपणका लागि सरकारले बर्षेनी अबौं रुपियाँ खर्च गर्छ । तर मिर्गौला रोग रोकथाम र निवारणका लागि प्रयाप्त मात्रामा खर्च गर्न सकेको छैन ।

आर्थिक भार धान्न सकस
नेपालमा हरेक वर्ष ३ हजारको मिर्गौला विफल भएर डायलाइसिस गराउनुपर्ने अवस्था सिर्जना हुने सरकारी आङ्कलन छ । तर वार्षिक पाँच सयको पनि मिर्गौैला प्रत्यारोपण हुन सकेको छैन । यसले प्रत्येक वर्ष सरकारलाई आर्थिक भार थपिँदै गएको छ । यहि दरमा मिर्गौला रोगी थपिदै जाने हो भने सरकारलाई खर्च धान्न मुस्किल पर्नसक्छ ।
मिर्गौला रोग रोकथाम र निवारणमा राज्यको पहल कदमी भएमा आगामी एक दशकभित्र डायलाइसिस गराउनेको संख्या १० प्रतिशतमा झार्न सकिने देखिन्छ । यसका लागि सरकारी तहबाट कार्यक्रम र योजनाको जरुरत देखिन्छ ।
अव्यवस्थित लाइसेन्सिङ प्रणाली
सरकारले सीमित संस्थालाई मात्र मिर्गौला प्रत्यारोपणको अनुमति प्रदान गरेको छ । राजधानीबाट गएको टिमले पोखरा, बिराटनगर र सुर्खेतमा सफल मिर्गौला प्रत्यारोपण गरेको सुन्नमा आएपनि पनि यसले निरन्तरता पाउने या नपाउने भन्ने चुनौति छ । मुलुकभर २–३ जना डाक्टरको टिमले मिर्गौला प्रत्यारोपण गर्नुहुन्छ । देशमा अंग प्रत्यारोपण गर्न सक्ने डाक्टर नभएका पनि होइनन् । तर लाइसेन्स वितरण प्रणाली, सिनियर र जुनियरजस्ता भेदभावको समस्या छ । त्यसैले सहज तरिकाले प्रत्यारोपणको लाइसेन्स वितरण गर्नुपर्छ ।
व्यापक जनचेतनाको जरुरत
आजकल ‘आफन्तलाई मिर्गौला दिएर बचाउनुपर्छ’, ‘एउटा मिर्गौलाले पनि बाँच्न सकिन्छ’ भन्ने सरकारात्मक सोच बन्न थालेको पाइन्छ । कानूनले पनि मिर्र्गौला दान गर्नसक्ने आफन्तको दायरा बढाएको छ । आफ्नो परिवार नाता भित्रका ५१ जना मध्येबाट मिर्गौला दान गर्न सकिन्छ । दुई फरक मिर्गौला रोगी बिरामीका आफन्तमध्ये एक–अर्कालाई मिर्गौला दान (पियर एक्स्चेञ्ज) गरेर पनि मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्राप्त गर्न सकिने कानून बनेपनि प्रभावकारी रुपमा मिर्गौला प्राप्त हुन सकेको छैन । त्यसैले यसमा व्यापक जनचेतनाको जरुरी देखिन्छ ।

अवसरको अभाव
देशभर ७० जना भन्दा बढी नेफ्रोलोजिष्ट छन् । यूरोलोजिष्ट पनि ७० जना भन्दा बढी नै छन् । जनशक्तिको अभाव छैन । तर सक्षम चिकित्सकले काम गर्ने अवसर पाएका छैनन् ।
जोखिममा युवा
देशका युवाहरु कि त खाँडी मुलुकमा छन् कि डायलाइसिस सेन्टरमा । मिर्गौला विफल भएर डायलाइसिस गर्ने ३० देखि ४० वर्ष उमेर समुहका व्यक्तिको संख्या ६० प्रतिशत बढी रहेको पाइन्छ ।
मिर्गौला बिग्रने कारणमध्ये नेपालमा ग्लोमेरुलोनेफ्राइटिस (जीएन) प्रमुख मानिएको छ । यो पिसावबाट प्रोटिन र रगत जाने समस्या हो । समयमै उपचार पाएमा यो रोग सत्प्रतिशत निको पार्न सकिन्छ ।

अवको विकल्प के त ?
हरेक स्वास्थ्य चौकीमा स्थानीय नागरिकको स्वास्थ्य रेकर्ड राख्न जरुरी छ । यसले ‘प्रत्येक नागरिकलाई कस्तो प्रकारको रोग छ’ भन्ने बारे जानकारी लिन मद्धत गर्छ । सरकारले स्वास्थ्य क्षेत्रमा प्रयाप्त रकम विनियोजन गर्नुपर्छ । बिनियोजित रकम उचित ठाउँमा सदुपयोग गर्नुपर्छ ।
हरेक नागरिकले स्वस्थ जीवनयापन गर्न पाउनुपर्छ । स्कुल र कलेजका बालबालिकाहरुको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । सरकारले गुणस्तर कायम गरेर स्वास्थ्य र शिक्षा निःशुल्क गर्न सक्नुपर्छ । ताकि मध्यम र निम्न वर्गीय परिवार उपचार र शिक्षाको चिन्तामा पिरोलिन नपरोस् ।
कतिपय ठाउँमा भइरहेका चुहावटलाई रोक्न सकेमा समस्याले बिस्तारै निकास पाउन सक्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

