
हरेक व्यक्ति दुईवटा मिर्गौला लिएर जन्मन्छन् । कोही एउटा लिएर जन्मेपनि मिर्गौला स्वस्थ भए स्वस्थै हुन्छन् । आफ्नो मुठ्ठीजत्रो मिर्गौला स्वस्थ रहे जीवन स्वस्थ हुन्छ ।
उच्च रक्तचाप, मधुमेहका साथै मिर्गौलामा लाग्ने अन्य रोगहरूले मिर्गौला बिगार्दै गएको थाहा नै हुँदैन । यसैले वर्षमा एकपटक रगतमा क्रियाटिनिन र पिसावमा प्रोटिन जाँच्न जरुरी हुन्छ ।
यसरी समयमै रोग पत्ता लागेमा निको पार्न सकिन्छ वा रोग बढ्न नदिने उपाय अपनाउन सकिन्छ ।
हाम्रो शरीरमा मिर्गौलाले के काम गर्छ ?
शरीरबाट पैदा भएको दुषित पदार्थ र बढी भएको पानी पिसावबाट बाहिर फाल्छ । रक्तचाप सन्तुलनमा राख्छ । रगत बनाउन मद्धत पु–याउँछ । हाडलाई स्वस्थ राख्न मद्धत गर्छ ।

मिर्गौला स्वस्थ राख्न र मिर्गौलालाई बचाउन के उपाय गर्ने ?
नियमित व्यायाम गर्ने, एक दिनमा कम्तीमा १० हजार पाईला हिँड्ने, दिनमा २ देखि ३ लिटर पिसाव हुनेगरी झोल पदार्थ पिउने, सुर्ती, खैनी, चुरोट तथा अल्कोहल सेवन नगर्ने, दुखाई कम गर्ने औषधि सकेसम्म प्रयोग नगर्ने, उचाई अनुसारको तौल कायम राख्ने, स्वस्थकर खाना खाने, चिनी, नुन बढी भएको खाना नखाने, रक्तचाप ठीक राख्ने, मधुमेहका बिरामीले समयसमयमा स्वास्थ्य परीक्षण गर्ने, कमसेकम वर्षमा एकपटक रगतमा क्रियाटिनिन र पिसाबमा प्रोटिनको परीक्षण गराउनुपर्छ ।
कस्ता व्यक्तिहरूले वर्षमा एकपटक मिर्गौला परीक्षण गर्न जरुरी छ ?
३० वर्ष नाघेका, बढी तौल भएका, उच्च रक्तचापको औषधि सेवन गरिरहेका, मधुमेहको उपचार गराइरहेका, दुखाई कम गर्ने लगायतका औषधि निरन्तर सेवन गर्ने बिरामी, परिवारमा मिर्गौला रोग रहेका व्यक्तिले वर्षमा एकपटक मिर्गौला परीक्षण गराउन जरुरी हुन्छ ।
के परीक्षण गर्ने ?
रगतमा क्रियाटिनन र पिसावमा प्रोटिन (अल्बुमिन)
(डा. काफ्ले राष्ट्रिय मिर्गौला उपचार केन्द्रको अध्यक्ष हुनुहुन्छ ।)
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


