
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गर्नुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उनले आइतबार र सोमबार हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गर्नुभएको हो । दुई दिनसम्म उनले एक सय २५ जनाको उपचार गरेको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो ।
आइतबार ५५ र सोमबार ७० बिरामीको उपचार गर्नुका साथै परामर्श सेवा दिएको थियो । स्वास्थ्यचौकीका प्रमुख केसीसहित सिनियर अहेव विक्रम पुन, अनमी नीता पुन, सनम वुद्धुजा पुन, अहेव चौथो सङ्गीना मगरातीलगायतले डा. केसीलाई सघाउनुभएको थियो ।
चिकित्सा शिक्षाका अभियान्ता डा. केसीले गत हप्ता बागलुङको निसिखोला गाउँपालिकाको बोहोरागाउँ स्वास्थ्यचौकीमा तीन दिन उपचार गरेको थियो । बागलुङबाट कुनै खबरबिना भुरुङ्ग तातोपानी आएका हुन् । गाउँपालिका र स्वास्थ्यचौकीले औषधिको व्यवस्थापन गरेको थियो ।
“पूर्वजानकारीबिनै डा केसी स्वास्थ्यचौकीमा आएका थिए”, स्वास्थ्य चौकी प्रमुख केसीले भन्नुभयो “हामी पनि अचम्ममा प¥यौँ ।” स्वास्थ्य चौकीले सामाजिक सञ्जाल, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र सङ्घसंस्थामार्फत सेवा लिनका लागि सर्वसाधारणलाई अनुरोध गरेको थियो ।
दाना, नारच्याङ, भुरुङ्ग तातोपानी, घार, शिख, पाउद्धार, पोखरेबगर, ठूलोबगरका सर्वसाधारण सेवा लिन आएका थिए । फुर्सदको समयमा ग्रामीण क्षेत्रका बिरामीको उपचारका लागि आएको डा. केसीले बताउनुभयो । “ग्रामीण क्षेत्रमा हाडजोर्नी तथा नशारोगसम्बन्धी समस्या भएका धेरै बिरामी उपचारको पहुँच बाहिर छन्”, उहाँले भन्नुभयो “फुर्सदको समयमा गाउँमै पुगेर सेवा दिने उद्देश्यले म्याग्दी आएको हुँ ।” रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

