
सेवाग्राहीको दृष्टिमा नेपालमा प्राइमरी क्लिनिकल केयर कमजोर भएको छ । किनभने अहिले सेवाग्राही स्वास्थ्यमा समस्या देखिनासाथै विशेषज्ञ चिकित्सकको खोजीमा लाग्छ । विशेषज्ञ चिकित्सक बिरामीले खोज्ने होइन, डाक्टरले पठाउने हो । मेडिकल सिस्टमअनुसार बिरामी हुँदा कोसँग सल्लाह लिने, सबैभन्दा पहिला भेट्ने एउटा निश्चित चिकित्सक हुनुपर्छ । जसले बिरामीको स्वास्थ्य बारे सबै रेकर्ड राख्छ । उसँग नियमित स्वास्थ्य परीक्षण मात्रै होइन स्वस्थ रहने विधिसमेत सल्लाह लिने गर्छ । यो सबै काम प्राइमेरी केयर फिजिसियनले गर्नुपर्छ ।
प्राइमरी केयर र टर्सरी केयरबीच ठूलो ‘ग्याप’
नेपालमा प्राइमेरी केयरसहितका चिकित्सक अभाव भयो भनेर क्यानडाको क्यालगरी विश्वविद्यालयको सहयोगमा जनरल प्राक्टिस (एमडिजीपी) कार्यक्रम सुरु भएको हो । यसको मुख्य उदेश्य नै जीवन रक्षासम्बन्धी आकस्मिक शल्यक्रिया र प्राइमेरी केयरको मेडिकल ज्ञान दिनु थियो । यही कार्यक्रमअनुसार उत्पादित चिकित्सकले देशका धेरै जिल्लामा काम गरे । तर, अहिले प्राइमरी केयर र टर्सरी केयरबीच ठूलो ‘ग्याप’ देखिएको छ । प्राइमरी केयर टिमले स्वस्थ रहने जीवन पद्धति सिकाउनुका साथै स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्छ ।
प्राइमरी केयरमार्फत उपचार नहुने अवस्था भयो भने मात्रै टर्सरी केयरका विशेषज्ञहरू चाहिन्छ । तर, अहिले विशेषज्ञहरू नै प्राइमरी केयरतिर लागिरहेका छन् । जसले स्वास्थ्य उपचारमा नै समस्या ल्याइरहेको छ ।
टर्सरी केयरको मुख्य काम उपचार सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान, रोगका रोकथाम उपाय पहिचान गर्नु हो । तर, उनीहरू अध्ययन, अनुसन्धानतर्फ होइन क्लिनिकल प्राक्टिसमा मात्रै व्यस्त रहेका छन् ।
बिरामीलाई सास्ती
प्राइमरी केयरबारे नेपालमा कोही पनि गम्भीर छैनन् । मेडिकल प्रणालीअनुसार हरेक परिवार र व्यक्तिको स्वास्थ्य विवरण राख्ने चिकित्सक (फ्यामिली फिजिसियन) हुनुपर्छ । यसो नहुँदा सेवाग्राहीले स्वास्थ्यमा कुनै समस्या देखिए कम्तिमा पनि ३–४ जना चिकित्सकसँग भेट्नुपर्ने अवस्था छ । मेरो मेयर, वडाध्यक्ष भन्ने छ तर मेरो चिकित्सक भन्ने प्रष्ट भएन । जसरी वडाध्यक्षले सिंगो वडावासीको कार्यालय प्रयोजनसम्बन्धी रेकर्ड राख्छ त्यस्तै सबैको स्वास्थ्य अवस्थाको रेकर्ड राख्ने चिकित्सक हुनुपर्छ । यसो नहुँदा बिरामीको धेरै खर्च भइरहेको छ ।

कामको मूल्याङ्कन शून्य
नेपालमा हालसम्म ६ सय जना जति एमडिजीपी उत्पादन भए होलान् । त्यसमध्ये कतिपय विदेशतिर छन् बाँकी पाँच सय जति नेपालमा होलान् । सरकारी सेवामा २५–३० जना जति छन् । उनीहरू जीवन रक्षासम्बन्धी शल्यक्रिया, सुत्केरी, एपेन्डिक्स, एनेस्थेसिया, हाडजोर्नीसम्बन्धी सबै काम गरिरहेका छन् । तर, कामको मूल्याङ्कन भइरहेको छैन ।
योजनाविहीन अवस्थामा राज्य संयन्त्र
६ वर्षअघि स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्ममा नेपालमा कस्ता चिकित्सक कति चाहिन्छ भनेर अध्ययन गरेको थियो तर सो फाइल मन्त्रालयमै थन्कियो ।
अध्ययनले यसअवधिमा ५५ सय जति चिकित्सक चाहिने उल्लेख गरेको थियो । १५ सयजति प्राइमेरी केयर चिकित्सक चाहिने प्रष्टाएको थियो । यसको आधार रोगको ढाँचा नै हो । अध्ययनलाई विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरेको थियो ।
चिकित्सा शिक्षा आयोगको ध्यान पुगोस्
नेपालमा चिकित्सा शिक्षा आयोगले प्रत्येक वर्ष १२ सय जना जतिलाई एमडीएमएस पढाउँछ । आयोगले देशमा कति विशेषज्ञ चिकित्सक आवश्यक छ भनेर हेर्दैन, सिर्फ कुन कलेजमा कति प्राध्यापक छन् भनेर हेर्छ । माग र पुर्तिको अवस्था मिलिरहेको छैन । मागअनुसार चिकित्सक उत्पादन गर्ने राज्यसँग कुनै योजना पनि छैन । अहिले कै अवस्थाले त चिकित्सक उत्पादन गर्ने र विदेश पठाउने मात्रै भइरहेको छ ।
पहिला आवश्यकता पहिचान गरौं
देशको आवश्यकता कति हो पहिचान गर्नुपर्छ । त्रिविले एमबीबीएस सुरु गर्नुभन्दा पहिला प्रा.डा. मथुराप्रसाद श्रेष्ठले कति चिकित्सक उत्पादन गर्ने भनेर अनुसन्धान गर्नुभएको थियो । त्यसयता नेपाललाई कति चिकित्सक आवश्यक छ भनेर कुनै अध्ययन भएको देखिँदैन ।
सामान्य औषधिले गर्ने ठाउँमा दशौं हजार खर्च
नागरिकको स्वास्थ्य अवस्था सुधार गर्ने हो भने प्राइमेरी केयर फिजिसियन उत्पादन नबढाइ सुखै छैन । अहिले वार्षिक २५–३० जना जति एमडिजिपी उत्पादन भइरहेका छन् । हालको अवस्थामा नेपालमा १५ सय जनाजति जनरल प्राक्टिसनर आवश्यक पर्छ । युरोप, अमेरिकातिर जनरल फिजिसियन (जिपी) ले नहेरी विशेषज्ञ चिकित्सकले बिरामी नै हेर्दैनन् । यहाँ पनि त्यसो गर्न सके प्राइमेरी केयरको महत्व बढ्छ । नेपालमा जिपी सिस्टममा उपचार नहुँदा सेवाग्राही पनि महंगोमा परिरहेका छन् । बिरामीले अनावश्यक परीक्षण र औषधि खरिद गरिरहेका छन् । सामान्य औषधि खाएर निको हुने रोगको उपचारमा दसौं हजार खर्च गर्नु परिरहेको छ ।
(डा. श्रेष्ठ वीर अस्पतालबाट अवकाश भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै हाल चितवन मेडिकल कलेजमा एमडिजीपी र आकस्मिक उपचार कार्यक्रममा प्राध्यापन गरिरहनु भएको छ । )
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

