
जनस्वास्थ्य सरोकार, काठमाडौँ I सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देशको सातै प्रदेशमा निजामती कर्मचारी अस्पतालजस्तै नमूना अस्पताल निर्माण गर्ने बताउनुभएको छ ।
आज आयोजित निजामती कर्मचारी अस्पतालमा सर्जिकल भवन हस्तान्तरण कार्यक्रममा उहाँले आगामी बजेटमा अस्पताल निर्माणका लागि थप बजेटको व्यवस्था गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभएको हो ।
मन्त्री मोदीले भन्नुभयो, “निजामती कर्मचारी अस्पतालजस्तै सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्नेबारे सोचिरहेका छौँ । यसका लागि आगामी आवमा बजेटको व्यवस्था गर्न खोजिरहेका छौँ ।”
उहाँले अस्पताल निर्माणको योजनाबारे जानकारी दिँदै भन्नुभयो, “ती अस्पतालमध्ये पनि राष्ट्रिय कलाकार, राष्ट्रिय व्यक्तित्व, विभिन्न आन्दोलनका घाइते, सहिद वा बेपत्ताका परिवारका लागि पनि छुट्टै अस्पताल निर्माण गर्ने सोचेका छौँ ।”
मन्त्री मोदीले सबै जनतामा सुलभ उपचार सेवा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने र थप अस्पताल निर्माणका लागि चीन सरकारसँग सहयोगका लागि पहल गरिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमा चीन सरकारले निर्माण गरेको नयाँ सर्जिकल भवन र पुरानो भवन पुनःनिर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
समारोहमा नेपालका लागि चीनियाँ राजदूत छन सोङ्ले स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य गर्न चीन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “विगत केही दशकयता, नेपाल सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धेरै हदसम्म सफल भएको छ । यसबीच चीन सरकार र नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा गरेको सहकार्यले दुवै देशको सम्बन्धलाई एउटा उचाई दिलाएको छ”, उहाँले भन्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले उक्त सर्जिकल भवनले थप उपचार सेवा उपलब्ध गराउन सहज हुने बताउनुभयो । उक्त भवनमा एक सय पाँच साधारण शय्या, १२ सघन कक्ष र चार शल्यचिकित्सा कक्ष छन् । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
