
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।
आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ । समितिका कर्मचारी तीन महिनादेखि तलब नपाएपछि दिनभर कार्यालय आउँछन् र बेलुकी निराश भएर घर फर्कने गरेका छन् ।
वैद्यखानाका कर्मचारीले फागुनदेखि नै तलब पाएका छैनन् । निमित्त कार्यकारी निर्देशक रामदेव यादव एक महिनादेखि कार्यकक्षमा नबस्दा कार्यालयमा अन्य समस्या पनि आएको कर्मचारी बताउँछन् ।
कार्यकारी निर्देशक यादव यही वैशाख ३ गतेदेखि नै बिहान एकपटक विद्युतीय हाजिर गरेर हिँड्ने गरेको गुनासो अधिकांश कर्मचारीको छ । समितिका प्रशासन शाखा प्रमुख रुन्धाता कोइराला विद्युतीय हाजिर ‘फेस रिडर’ को लिङ्कसमेत निमित्त कार्यकारी निर्देशक यादवले आफ्नै कार्यकक्षमा थुनेर हिँडेको बताउनुहुन्छ ।
“कर्मचारीको बिदालगायत अभिलेख पनि निमित्त कार्यकारी निर्देशककै कार्यकक्षमा छ, शनिबारदेखि कार्यालयमा कार्यरत माली सानीमाया लामाको अनिवार्य अवकाश भयो, टिप्पणी तयार छ, निमित्त कार्यकारी निर्देशक हाजिरमा अनुहार देखाएर हिँड्ने गरेकाले कसैलाई स्वीकृत गराउन पाएको छैन, यस्ता नियमित काम र समस्या कार्यालयमा धेरै छन्, समस्या समाधानतिर निमित्त कार्यकारी निर्देशकको ध्यान गएको छैन”, उहाँले भन्नुभयो ।
तीन महिनादेखि तलब नपाउँदा समितिका कविराज वैद्यका रुपमा कार्यरत आदित्य ठाकुरलाई घरखर्च चलाउन मुस्किल भएको छ । समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको हो । समितिमा लामो समयदेखि कार्यालय प्रमुखको विवाद हुँदै आएको छ ।
सर्वोच्च अदालतले वैशाख ३ गते समितिका वरिष्ठ कर्मचारी ऋषिराज रेग्मीले दायर गरेको मुद्दामा निमित्त दिने भए कार्यालयकै वरिष्ठलाई दिनुपर्छ भनी फैसला गरेको थियो । फैसलाको पूर्णपाठ भने आएको छैन । यही फैसलापछि निमित्त कार्यकारी निर्देशक यादव बिहान हाजिर गरेर हिँड्न थालेका हुन् । सर्वोच्चले फैसला गरेपछि रेग्मीले निवेदन लेखी त्यसको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पनि गराएका छन् ।
मन्त्रालयका सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाइँले वैद्यखानाका विषयमा बेवास्ता गर्दा संस्थामा धेरै समस्या आउन थालेको बताइएको छ । लामो समयदेखि समितिका कर्मचारीले पनि गठन आदेश बमोजिम ११औँ तहको कार्यकारी निर्देशक नियुक्ति गर्न माग गर्दै आएका छन् । निमित्त दिनेभए समितिकै वरिष्ठ कर्मचारीलाई दिनुपर्ने अधिकांश कर्मचारीको माग छ ।
समिति गठन आदेशमा आयुर्वेद समूहको ११औँ तहका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १०औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि वैद्यखानामा विवाद हुँदै आएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा यादव कारखानामा कर्मचारीले काम नगरेका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको बताउनुहुन्छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
