
जनस्वास्थ्य सरोकार, चितवन। भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।
कारागारमा हाल ४९ महिला चार नाबालक–नाबालिकासहित सात सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।
यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने हुन्छ । उहाँका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि रु १२ लाखमात्रै बजेट पठाएको छ । अघिल्लो वर्ष रु २५ लाख पठाएको थियो । यसभन्दा अघिल्लो वर्ष रु ४८ लाख पठाएको जनाउँदै उहाँले कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।
औषधिको चरम अभाव भएपछि रु १५ लाख माग गरेकामा रु एक लाखमात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिनुभयो । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधि जुटाएको छ ।
दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । उहाँले भन्नुभयो, “किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ ।” नियमित औषधिसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने उहाँले बताउनुभयो ।
कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । कारागार प्रमुख आचार्यले भन्नुभयो, “सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।”
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
