नेभिगेशन

उच्च रक्तचाप भएका व्यक्तिले किन औषधि खाने ?

डा. दिवाकर शर्मा,वरिष्ठ मुटुरोग विशेषज्ञ


‘जीवनभर औषधि सेवन गरिरहनुपर्छ ?’ ‘यसले मिर्गौलालगायतका शरीरका महत्वपूर्ण अंग असफल गराउने पो हो कि ?’ जस्ता प्रश्न उच्च रक्तचापको औषधि सेवन गर्ने व्यक्तिहरुबाट आइरहन्छ ।

तर उच्चरक्तचाप भएका व्यक्तिहरुले औषधि सेवन गर्नुपर्ने उद्देश्य भनेकै दीर्घकालीन रुपमा हार्ट फेलियर, मिर्गौला, हृदयघात, मस्तिष्कघात, आँखाको समस्या आदिबाट जोगाउन हो ।


उच्चरक्तचापका औषधिहरुले कतिपय व्यक्तिलाई सामान्य साइडइफेक्टहरु पनि गराउन सक्छन् ।

यदि साइड इफेक्ट भएमा सम्बन्धित चिकित्सकको निगरानीमा औषधि परिवर्तन गर्नुपर्ने हुनसक्छ वा परिवतर्न नगर्नुपर्ने पनि हुनसक्छ ।

उच्च रक्तचापको औषधि पेनकिलर औषधि जस्तो होइन ।

यो त जीवनभर खानुको उद्देश्य जीवन लम्व्याउनका लागि हो भने गुणस्तरीय जीवन जीउन पनि हो । डायविटिजको औषधि पनि त्यहि हो । जीवनशैली सुधार गरेर आएमा औषधिको डोज कम गर्न सकिन्छ ।

उच्च रक्तचाप नियन्त्रण भएपछि कसैकसैलाई औषधि सेवन गर्न छोडाएको पनि छ । तर त्यो संख्या धेरै छैन । औषधि सेवन बीचैमा छोडेमा उच्चरक्तचाप वा डायविटिज बिस्तारै बढ्दै जानसक्छ ।

खासगरी मुटुलाई सबैभन्दा नराम्रोसँग असर गर्ने उच्च रक्तचाप हो । उच्च रक्तचापले मुुटु सुन्निने, हार्ट फेलियर, मुटुको चालमा गडबडीको समस्या ल्याउनसक्छ ।

हार्ट फेलियरले कोरानरी आर्टरी डिजिज र हृदयघातलाई बढाउन सक्छ ।

मधुमेहले शरीरमा सुगर बढाउनेदेखि मिर्गौला, आँखा, रगतको नसा, मुटुलगायत सम्पूर्ण शरीरभर असर गर्छ । मधुमेहले मुटुको मांशपेशीमा रगत सञ्चालनमा अवरोध ल्याउने, मुटुका नसाहरु अवरुद्ध गराउने, धेरै हार्ट फेलियरको समस्या ल्याउन सक्छ ।

रगतमा बोसोको मात्रा बढेपछि हुने कोलस्टेरोलले मुटुलगायत शरीरका अन्य भागका रक्तनलीहरुमा ब्लकेज भएर हृदयघात गराउनसक्छ ।

मोटोपनले ब्लडप्रेसर, डायबिटिज, कोलेस्टेरोललगायतका समस्या बढाउँछ । यस्तो समस्याले बिस्तारै शरीरका अंगहरुमा असर गर्छ । जीवनशैलीसँग सम्बन्धित चुरोट, सूर्तिको सेवन, धेरै मध्यपान गर्ने, जंकफूडको सेवनले मुटुलाई असर गर्छ ।


जुनसुकै संक्रमणजन्य रोगले सैद्धान्तिक रुपमा मुटुमा असर गर्नसक्ने सम्भावना रहन्छ । सरुवा रोगहरुमा भाइरसजन्य रोगहरु (जस्तैः कोभिड—१९), विभिन्न ब्याक्टेरिया र परजीवीहरु आदि पर्छन् । कोभिङ—१९ ले मुख्य त घाँटी र फोक्सोमा असर गर्छ । यसले मुटुमा पनि असर गरेर मायोकार्डाइटिस गराएको पाइन्छ ।

साथै मुटुको मांशपेशीलाई कमजोर र मुटुको चालमा गडबडी ल्याउँछ । त्यस्तै क्षयरोगले पेरिकार्डाइटिस गराउने धेरै सम्भावना रहन्छ । सामान्य रुघाखोकी गराउने भाइरसले पनि मायोकार्डाइटिस गराएर मुटुलाई असर पार्नसक्छ ।

टाइफाइडले पनि मुटुमा असर पार्नसक्छ । सामान्यतः कतिपय सरुवा रोग आफैं निको हुन्छन् भने कतिपय औषधोपचारले निको पार्न सकिन्छ ।

तर केही समस्या आंशिक रुपमा निको हुने गर्छन् । यदि स्थायी रुपमा मायोकार्डाइटिस भएमा व्यक्तिको मृत्युसमेत हुनसक्छ ।


योग ध्यान स्वास्थ्यका लागि लाभदायक हुन्छन् । तर यो गर्दैमा आफूखुशी औषधि सेवन छोडन् हुँदैन ।

औषधि घटाउने, बढाउने, छोडाउने चिकित्सकको हातमा हुन्छ ।

उच्चरक्तचाप, डायविटिज, खानपान र उचित जीवनशैली, अन्य खालका जोखिम कारक आदिलाई राम्रोसँग नियन्त्रणमा राख्न सकेमा मुटु जोगाउन सकिन्छ । (डा.शर्मा ह्याम्स हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट