
जनस्वास्थ्य सरोकार, काभ्रे । विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो ।
बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
‘काभ्रेपलाञ्चोक उच्च उक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधबार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो ।
कार्यक्रमअन्तर्गत पहिला स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर गाउँगाउँमा ‘हाइपरटेन्सन’का बिरामीको स्क्रिनिङ गरी उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो ।
“काभ्रेपलाञ्चोकमा लागू गरिएको अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जान्छौँ”, उहाँले भन्नुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का डा ग्याम्पो दार्जेले नमूनाका लागि देशमै पहिलो पटक काभ्रेपलाञ्चोकबाट यो कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले हाइपरटेन्सन नियन्त्रण कार्यक्रमलाई गम्भीरतापूर्वक लिनसमेत आग्रह गर्नुभएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयको नसर्ने रोग महाशाखा प्रमुख डा फणीन्द्रप्रसाद बडालका अनुसार अभियानअन्तर्गत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ । काभ्रेपलाञ्चोक उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था भइसकेको छ । बिरामीको अवस्था हेरि तीनथरीका औषधि निःशुल्क वितरण हुने जनाइएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईले काभ्रेको कूल जनसङ्ख्याको ३० हजारभन्दा बढी नागरिकमा उच्च रक्तचापको समस्या रहेको जानकारी दिए । उहाँका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार दुई सय ८१ जनामा उच्च रक्तचापको समस्या छ । यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा नौ हजार चार सय ८२ उच्च रक्तचापका बिरामी छन् । जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएका छन् । रासस
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
