जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मुलुकमा सुविधासम्पन्न आधुनिक जलन उपचार केन्द्र बनाउन आग्रह गर्नुभएको छ ।
तीन महिनापछि संसद वैठकमा उपस्थित हुनुभएका भण्डारीले आफ्नो उपचारका लागि सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग हुनुपर्ने बताउनुभयो ।
गत फागुन ४ गते काठमाडौंको बुद्धनगरस्थित घरमा ग्याँस सिलिन्डर लिक भएर जलेर गम्भीर घाइते हुनुभएका भण्डारी भारतमा उपचार गराएर केही दिनअघि मात्र स्वदेश फर्कनुभएको थियो ।

सभामुख देवराज घिमिरेले दिएको १२ मिनेटको समयसिमाभित्र रहेर भण्डारीले भन्नुभयो— ‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । मुम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् ।’
उहाँलाई बसेर बोल्ने व्यवस्था मिलाइएको थियो ।
आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गर्दै भण्डारीले भन्नुभयो —‘म सौभाग्यले बाँचेर आएर यहाँ बोल्न पाएको छु । जवकी विगत तीन वर्षमा त्यहाँ भेन्टिलेटरमा गएका म जस्ता बिरामी तीनजना मात्रै बाँचेका रहेछन् ।’ उहाँले आफूले उपचार गराएका बाउछोराले चलाएको अस्पताल एसियाकै उत्कृष्ट गरेको उल्लेख गर्दै नेपालमा स्वास्थ्यकर्मी र डाक्टरहरूको कमी नभएकोसमेत अनुभव सुनाउनुभयो ।
उहाँले भन्नुभयो—‘मैले प्रधानमन्त्रीलाई अनुरोध गरे हामीले एउटा हस्पिटल बनायौं भने एसियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्नसक्छ । यो अनुरोध प्रधानमन्त्रीलाई गर्ने अवसर पाएँ ।’
सांसद भण्डारीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको थियो । भारतबाट फर्किएपछि पत्रकार सम्मेलनमा उहाँले आधुनिक जलन उपचार केन्द्र निर्माणमा जोड दिनुभएको थियो र त्यसका लागि आफू नेतृत्व लिन तयार भएको बताउनुभएको थियो ।
सो घटनामा परेकी उहाँकी आमाको भने जलनकै कारण निधन भएको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
