जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी गराउनुभएको हो । के के छन् महत्वपूर्ण पक्ष ?

शुक्रराज अस्पताललाई ३ सय शैयामा विस्तार
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालाई ३ सय शैयामा विस्तार गरिने छ । पोखरा,सुर्खेत डोटी र भरतपुरमा निर्माणधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख छ । सरुवा रोग अस्पताल निर्माण एवं विस्तारका लागि रु. ४६ करोड विनियोजन गरिएको छ ।
क्षयरोगमा १ अर्ब १५ करोड बजेट
क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत रोगीहरुको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन रु १ अर्ब १५ करोड विनियोजन गरिएको छ ।
स्वेदशी औषधिलाई प्राथमिकता
मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन रु. १ अर्ब २८ करोड बिनियोजन गरिएको छ । यस कार्यक्रमअन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरीद गर्न प्राथमिकता दिइनेछ ।
अस्पताल निर्माणमा ८ अर्ब
हाल ३२२ स्थानीय तहमा निर्माणाधीन ५, १० र १५ शैयाका अस्पताल निर्माण कार्यका लागि रु. ८ अर्ब बिनियोजन गरिएको छ ।
उपकरण खरीदमा ८२ करोड
आगामी वर्ष सम्पन्न हुने १०० अस्पतालमा स्वास्थ्य उपकरण खरीद गर्न रु. ८२ करोड विनियोजन गरिएको छ ।
आमा र नवजात शिशु सुरक्षा कार्यक्रम
मातृ मृत्युदर र नवजात शिशु मृत्यु दर बढी भएका स्थान लक्षित गरी आमा र नवजात शिशु सुरक्षाका विशेष कार्यक्रम सञ्चालन गरिने छ । मातृ तथा नवशिशु कार्यक्रम र आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
५ हजारलाई निरन्तरता
क्यान्सर, मेरुदण्ड पक्षघात र मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाईसिस गराइरहेका बिरामीलाई औषधि उपचार खर्च वापत् दिइँदै आएको मासिक रु. ५ हजारलाई निरन्तरता दिइएको छ ।
सबै संघीय अस्पतालहरुबाट मिर्गौला प्रत्यारोपण
विपन्न नागरिकलाई मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन रु. २ अर्ब ५० करोड बिनियोजन गरिएको छ । सबै संघीय अस्पतालहरुबाट मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
पाठेघरको मुख र स्तन क्यान्सर
महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमशः बिस्तार गरिनेछ ।
एचपीभी खोप कार्यक्रम
पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिनेछ ।
सबै संघीय अस्पतालमा निःसन्तान उपचार केन्द्र
सबै संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार केन्द्र विस्तार गरिनेछ ।
अंग प्रत्यारोपण केन्द्रको क्षमता विस्तार
शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विकास गरिनेछ ।
अत्याधुनिक ब्लड बैंक
शहीद गंगालाल हृदय केन्द्रमा अत्याधुनिक ब्लड बैंक सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गरिएको छ ।
पेट स्क्यान र साइक्लोटोनका लागि बजेट
भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
डिमेन्सिया र अज्लाइमर्सको उपचार
जेष्ठ नागरिकलाई सरकारी अस्पतालमा सञ्चालनमा रहेका जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाइनेछ । बर्सेनी बढ्दै गएको बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अज्लाइमर्स रोगको क्रिनिङ गरी नजिकको विशिष्टिकृत अस्पतालसँगको समन्वयमा उपचारको व्यवस्था मिलाइने छ ।
यौन र कुष्ठ रोगमा रकम
एड्स तथा यौन रोग र कुष्ठरोग नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिन रकम बिनियोजन गरिएको छ ।
सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट बीमा
स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिइएको छ । सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने छ ।
मिल्क बैंकको व्यवस्था
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिनेछ ।
बीरमा अत्याधुनिक वर्न युनिट
काठमाडौंको बीर अस्पतालमा रहेको वर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न सेन्टरको रुपमा विकास गर्न बजेट छुट्याइएको छ ।
प्रादेशिक अस्पतालमा निजामति अस्पतालको सेवा
निजामती अस्पतालाई सुपर स्पेशियालिटी सहितको अस्पतालको रुपमा विकास गरिने छ । प्रादेशिक अस्पतालको समन्वयमा प्रदेशस्तरमा निजामती अस्पतालको सेवा विस्तार गरी निजामती कर्मचारीहरुले सुलभ उपचार सेवा प्राप्त गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान
गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने र गेटा अस्पतालाई एकसय शैयाको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिएको छ ।
दैलेखमा स्याटेलाइट अस्पताल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत दैलेखको आठबीस नगरपालिका, राकममा एकसय शैयाको स्याटेलाइट अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढाइनेछ ।
संघीय अस्पतालमा मानसिक रोगीलाई अन्तरंग सेवा
सबै संघीय अस्पतालमा मानसिक रोगीको लागि अन्तरंग सेवा सञ्चालन गरिने छ ।
६ जिल्लामा प्राथमिक ट्रमा केयर सेन्टर
कैलालीको लम्की, रुपन्देहीको सालझण्डी, नवलपरासी पश्चिमको वर्दघाट, नवलपुरको गैडाकोट, सिन्धुलीको भिमान र धादिङको बेल्खुमा नजिकको सरकारी अस्पतालसँगको समन्वयमा प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
एक अस्पताल एक स्वास्थ्यकर्मी कार्यक्रमलाई २४ करोड
सबै संघीय अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्न २४ करोड बजेट विनियोजन गरिएको छ ।
खुला योग तथा व्यायामशाला
बुढानिलकण्डमा राष्ट्रिय आयुर्वेद पञ्चर्क योग सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न बजेट व्यवस्था गरिएको छ । नागरिकलाई शारीरिक व्यायाम, योग र आरोग्य सेवाको विस्तारमा जोड दिई स्वस्थ्य जीवनशैली अपनाउन अभिप्रेरित गरिनेछ । खुला योग तथा व्यायामशाला निर्माण तथा उपकरण खरीदका लागि बजेट व्यवस्था गरिएको छ ।
एकीकृत स्वास्थ्य विज्ञान ऐन तर्जुमा गरिने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायत सबै संघीय स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन र व्यवस्थापनमा एकरुपता कायम गर्न एकीकृत स्वास्थ्य विज्ञान ऐन तर्जुमा गरिनेछ ।
संघीय अस्पताललाई शिक्षण अस्पतालमा विकास
सबै संघीय अस्पताललाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्नसक्ने गरी सुपरस्पेशियालिटी सुविधा सहितको शिक्षण अस्पतालको रुपमा विकास गर्दै लगिनेछ ।
छात्रवृत्तिमा अध्ययन गरेकाले उपत्यकाबाहिर काम गर्नुपर्ने
सरकारी छात्रवृत्तिमा एमडी र एमएस गरेको विशेषज्ञ चिकित्सकले निश्चित समय अवधिसम्म काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा अनिवार्य रुपमा सेवा गर्नुपर्ने व्यवस्था गरिनेछ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
