
जनस्वास्थ्य सरोकार, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ ।
विपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको छ ।
मुख्यतया तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्न सो अपस्ताल स्थापना गरिएको हो । अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एक्सरे फार्मेसी सेवा, विगत एक महिनादेखि हरेक दिन भिडियो एक्सरे सेवासमेत दिँदै आएको छ ।
विशेषज्ञ चिकित्सक अभावका कारण सेवाग्राहीको रोजाइको केन्द्र भने बन्नसकेको छैन । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालमा अब छिट्टै डायलायसिस, शल्यक्रिया सेवा र ब्लड बैंक सेवा सञ्चालन हुने अस्पतालका डा. आनन्दमणि उपाध्यायले बताउनुभयो । “आइसीयू र एनआइसीयू सेवा सञ्चालनसमेत गर्ने तयारी छ”, उहाँले भन्नुभयो ।
प्रदेश सरकारबाट प्राप्त पाँचवटा डायलायसिस मेसिन जडान गर्ने काम भइसकेकाले अब छिट्टै सो सेवासमेत सुरु हुने भएको छ । यी सबै सेवा सञ्चालनका लागि भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभाव मुख्य चुनौती बनेको छ । पचास शय्याको अस्पताल सञ्चालनका लागि पर्याप्त भौतिक संरचना आवश्यक भए पनि अहिले पूरानै संरचनाबाट सेवा दिनुपर्ने बाध्यता रहेको डा। उपाध्यायले बताउनुभयो । “दैनिक ७०–७५ जनाले सेवा लिइरहेका छन्”, उनले भन्नुभयो ।
अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले अस्पतालको सेवालाई चुस्तदुरुस्त गर्न कोसिस गरिरहेको बताउनुभयो । जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि नहुँदा सेवा सुरु गर्न नसकेको उहाँको भनाइ छ ।
अस्पतालका सुपरिटेण्डेन्ट डा. सारग जर्गामगर अध्ययन बिदामा गएपछि करिब १० महिना स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले हेर्दै आएको थियो । अहिले दुई महिनादेखि निमित्त सुपरिटेण्डेन्ट डा. दाहालको नेतृत्वमा अस्पताले सेवा प्रवाह गर्दै आएको छ ।
मेथिनकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले सेवा प्रवाहमा वृद्धि भए पनि भौतिक संरचनाको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको बताउनुभयो । बजेट र जनशक्ति अभावले गर्दा भएको उपकरण सञ्चालनमा ल्याएर सेवा दिन नसकेको उहाँले बताउनुभयो ।
विसं २०५४ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएर २०६६ मा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । विसं २०७७ मा सङ्घीय सरकारले ५० शय्याको अस्पतालमा रुपान्तरण गरेर प्रादेशिक जिल्ला अस्पतालका रूपमा सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा हाल करिब ७० जनशक्ति कार्यरत छ । रासस
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
