
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
शुक्रवार शहीद गंङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर अस्पतालको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १० प्रतिशत नागरिकको निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गर्ने बताउनुभएको हो ।
उहाँले अस्पताल सञ्चालनको स्वीकृति लिँदा १० प्रतिशत विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भए पनि त्यो प्रावधान पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले अनुगमनका क्रममा अस्पतालहरूसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण पनि माग गर्नुभयो ।
उहाँले भन्नुभयो,– ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १० प्रतिशत नागरिकको निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गर्छौँ । हामी एक आर्थिक वर्षकै तथ्याङ्क माग्छौँ । नागरिकले पाउने त्यो अधिकार दिलाएर छोड्छौँ । विपन्न बिरामीलाई, आर्थिक अवस्था कमजोर भएका बिरामीलाई शय्या नपाएर भौतारिनुपर्ने वा मन्त्रीले, ठूलो हाकिमले, माननीयले सिफारिस शय्या पाउने नत्र नपाउने अवस्थालाई यो कार्यकालबाट तोडिदिन्छौँ ।’
मन्त्री बस्नेतले निःशुल्क उपचार दिने र नदिने अस्पतालहरूलाई सरकारले त्यही अनुरूप हेर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले अस्पतालमा शय्या उपलब्ध छ / छैन भन्ने पनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको भन्दै आउँदो दिनमा शय्या (बेड) पाउनका लागि मन्त्री वा सांसदहरूले सिफारिस गर्नुपर्ने अवस्था तोड्ने बताउनुभयो ।
अनुगमनका क्रममा उहाँले अस्पताल प्रशासन, चिकित्सक, बहिरङ्ग सेवामा भर्ना भएका बिरामी, आकस्मिक सेवामा भर्ना भएका बिरामीलाई भेटेर अस्पतालले दिएको सेवाको सम्बन्धमा जानकारी लिनुभएको थियो । उहाँले अस्पताल अनुगमन गरिराख्ने बताउनुभयो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

