नेभिगेशन

लेजर गर्दा अपनाउनुपर्ने सावधानी ! कसलाई कति सेटिङ जरूरी पर्छ ?

डा. श्रेया बस्ताकोटी, डर्माटोलोजिष्ट, एस्थेटिक/कस्मेटिक सर्जन एवं लेजर विशेषज्ञ, लभाना स्कीन एण्ड हेयर क्लिनिक

हर्मोनको असन्तुलन, पोलिसिस्टिक ओभरीयन सिन्ड्रोम, लुइटेचिङ हर्मोन एण्ड फोलिकल स्टिमुलेटिङ (एलएचएफएस), थायरोइड स्टिम्युलेटिङ हर्मोन (टिएचएस) हुने महिलाहरूमा पुरूषको जस्तै दाह्री, जुँगा, अनावश्यक रौँ पलाउन सक्छ । महिलाहरूले सुन्दरताका लागि आवश्यक नठानिएको रौं निकाल्न विभिन्न किसिमका घरायसी विधि अपनाएको पाइन्छ । घरमा गरिने वाक्सिङ, थ्रेडिङ र सेभिङ आदिले छाला जलन (स्किन इरिटेसन) हुने, अत्यधिक दुखाई हुने, पोल्ने र कपालको जरा संक्रमण (फोलिक्युलाइटिस) समेत हुनसक्ने झन्झटबाट राहत पाउन लेजर प्रयोगर्ताहरूको संख्या बढ्दो छ । विगतमा लेजर हेयर रिडक्सनले क्यान्सर वा छालामा कुनै समस्या हुने हो की भनेर डराउँथे । वास्तवमा दक्ष जनशक्तिबाट गरिएमा यो विधिमा कुनै साइड इफेक्ट हुँदैन । कसैकसैलाई हल्का पोल्ने, रातो हुने, जलन हुनसक्ने भएपनि केहि दिनमै निको हुन्छ । लेजर लाइटले आँखालाई हानी गर्न सक्ने कारण सेवाग्राही र टेक्निसियन दुवैले आँखामा विशेष चश्माको प्रयोग गर्नुपर्छ ।

नेपालमा छाला तथा सौन्दर्य सम्बन्धी प्रभावकारी कानुन छैन । कतिपय क्लिनिकहरूमा अनुभव र दक्षता नै नभएका टेक्निसियनहरूले लेजर गरिहेको भन्ने सुनिन्छ । मेसिनको पावर सेटिङ मिलाउन नजान्दा लेजर गरेको वरिपरीको भागमा पहिलाको भन्दा अझ रौँ पलाउन सक्छ । यसलाई पाराडक्सिकल हेयर ग्रोथ भनिन्छ । त्यसकारण दक्ष एवं अनुभवी व्यक्तिबाट मात्र लेजर गर्नुपर्छ ।

कति सेटिङ पूरा गर्नुपर्छ ?
लेजर हेयर रिडक्सन प्रोटोकल अनुसार कम्तिमा ६ सेटिङमा गरिन्छ । हर्मोनल असन्तुलनबाट समस्या उत्पन्न भएका महिलाहरूलाई ६ सेटिङले नपुगेर ३–४ ओटा सेटिङ थप गर्नुपर्ने हुनसक्छ । प्रायः ४ देखि ६ हप्ताको अन्तरालमा लेजर हेयर रिडक्सन सेटिङ गरिएको हुन्छ ।

सामान्य व्यक्तिको तुलनामा हर्मोनको असन्तुलनले पलाएको रौं रिडक्सन हुन समय लाग्छ । यस्ता व्यक्तिमा पुनः रौँ पलाउन सक्ने भएकाले सेसन सकिएपछि पनि वर्षको एक पटक मेन्टेनेन्स गर्नुपर्ने हुनसक्छ ।


जीवनशैली
लेजर गर्दा छाला रातो र जलन हुने भएकाले घामको किरणबाट जोगिनुपर्छ । केहीदिनसम्म कडा शारीरिक अभ्यासहरू गर्न हुँदैन । त्यसबाहेक नियमित सन्तुलित भोजन गर्न सकिन्छ ।


खर्च कति लाग्छ ?
उपकरणको गुणस्तरका आधारमा शुल्क निर्धारण गरिएको हुन्छ । नेपालको सन्दर्भमा पूरै शरीरको रौं हटाएको झण्डै रू. १ देखि ३ लाखसम्म पर्नसक्छ ।


डा. बस्ताकोटी विगत ३ वर्षदेखि लभाना स्कीन एण्ड हेयर क्लिनिकमा कार्यरत हुनुहुन्छ । उहाँले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस र एमडी गर्नुभएको छ । उहाँले कस्मेटिक सर्जरी, लेजर र कपाल प्रत्यारोपणसम्बन्धी तालिम थाइल्याडको बैंकक र मुम्बईबाट लिनुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख