
जनस्वास्थ्य सरोकार, काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।
गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ । मुटुसम्बन्धी समस्या भएका बिरामीहरुका लागि जाडो जत्तिकै जोखिम गर्मी याममा पनि हुने गर्दछ ।
गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्च रक्तचाप र यसको औषधि उपयोग गरिरहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाका/मिर्गौला रोगी, पहिले बेहोस भइसकेका र कुनै अङ्गको सङ्क्रमणले ग्रस्त बिरामी पर्दछन् ।
अझ मुटुजन्य समस्या भएका व्यक्तिहरुका लागि त झन उच्च तापक्रमबाट प्रभावित हुने सम्भावना दोब्बरले बढछ । अति गर्मीले मुटुका बिरामीको ज्यानसमेत जान सक्छ । तापमान वृद्धिका कारण केही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेष गरी हृदयाघात) बढिरहेको छ । यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ ।
उच्च रक्तचापका बिरामीहरू गर्मी याममा भीड, हावाको प्रवाह (भेन्टिलेसन) नभएको कोठा वा गाडीमा धेरै बेरसम्म गुम्सिएको अवस्थामा बस्दा वा काम गर्दा रिँगटा लाग्ने र बेहोस हुने स्थिति आउन सक्छ । पर्याप्त निन्द्रा, तनाव कम गर्ने, रक्तचाप नियमित परीक्षण गर्ने ९५० वर्ष पुगेका, मोटोपना, मुटुरोगी, उच्च रक्तचाप भएकाले बिशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
गर्मीले मुटुमा समस्या हुनबाट जोगिने उपाय
प्रशस्त पानीको सेवन :
काममा घरबाहिर निस्कनुअघि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खानुपर्छ । त्यस्ता व्यक्तिले नुन्चिनी, पानी र कागतीको सर्बतले खाइरहने गरे शरीरमा खनिज, लवण र पोटासियमको सन्तुलन बिग्रन पाउँदैन । पानीले शरीरको तापक्रम सामान्य राख्छ । यसले जोर्नीलाई चिप्लोसँगै गद्दाजस्तै बनाउँछ । यसले स्पाइनल कर्डसँगै अन्य संवेदनशील तन्तुहरूलाई जोगाउँछ ।
नियमित आवश्यकता अनुसार एक–दुई घण्टाको फरकमा प्रशस्त पानी पिउने र शरिरमा पानी प्रयाप्त भए नभएको आफ्नो पिसाव सफा छ छैन हेर्नुपर्छ । अन्य स्वस्थ्य मानिसले पनि मौसम गर्मी हुँदा वा व्यायाम गर्दा त अझ बढी तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ ।
फलफूल/जुसको सेवन गर्ने
फलफूलमा पाइने खनिज तत्वहरुले शरिरलाई पसिनाको माध्यमबाट हुने खनिजको कमीलाई पूर्ति गर्छ र रक्तचाप र मुटुको क्रियाकलाप लाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
चिया/कफीको सेवन नगर्ने स् चियाकफीका कारण शरीरमा पानीको कमी झन् हुन थाल्छ । चिया/कफीमा पाइने कैफिनले पिसाबको मात्रा बढाएर शरिरमा पानीको मात्रालाई कमी गर्छ, अत्यधिक गर्मीमा चियारकफीको सेवन कम गर्नु फाइदाजनक हुन्छ ।
धुमपान तथा मद्यपान नगर्ने
धुमपान तथा मद्यपान स्वास्थ्यका लागि लाभदायक हुँदैन । त्यसमा पनि गर्मीको समयमा गरिने धुमपानले शरीरलाई सुख्खा राख्न बल पुग्दछ भने मदिरा सेवनले पिसाबको मात्रा बढाएर शरीरमा पानीको मात्रालाई कमी गर्छ ।
गर्मीमा ब्यायाम गर्दा होस पुर्याउने
सकेसम्म कम गर्मी भएको बेला (बिहान) हिँड्ने, ब्यायाम अगाडि पछाडि गर्ने बेलामा पानी पिउने । बिहान वा साँझमा घर बाहिरको काम वा व्यायाम गर्न सकिन्छ ।
सकभर घरभित्रै बस्ने
गर्मीको मौसममा चर्को घाममा लागेका बेला घर बाहिर निस्कनु स्वास्थ्यका लागि निकै जोखिम मानिन्छ । सकेसम्म घरभित्रै बस्नुपर्छ । यदि घरभित्रै बस्दा पनि दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ । सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैन । निस्कनै पर्ने अवस्थामा टोपी वा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कनुपर्छ ।
चर्को घामबाट बच्ने स् दिउँसोको सूर्यको किरणबाट बच्नुपर्छ । अति बढी परिश्रम पर्ने कामहरू कम गर्नपर्छ । बाहिर निस्कने बेलामा छाता, टोपी, चश्मा, पातलो तथा खुकुलो कपडा र सन स्क्रिनको प्रयोग गर्न सकिन्छ ।
उपयुक्त कपडा प्रयोग गर्ने स् जोखिम समूहका व्यक्तिहरूले बढी गर्मीमा हल्का लुगा लगाउनुपर्छ । सिन्थेटिक, नाइलन, पोलिस्टरको सट्टा सुतीका लुगा लगाउनुपर्छ । टाइट र गाढा रङका लुगा लगाउनु हुँदैन ।
यी माथि उल्लेख गरिएका विभिन्न उपायहरुका बारेमा सचेत र सजग हुन सकेमा गर्मी याममा हुनसक्ने जोखिमबाट बच्न सकिन्छ । अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल रक्तचापको परीक्षण गराउनुपर्छ । यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ ।
(प्रस्तुत विचार वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिलसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीमा आधारित छ)
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
