
जनस्वास्थ्य सरोकार, जुम्ला । सङ्घीय सरकारले जुम्लामा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ । यहाँको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँ स्थित आयुर्वेद स्वास्थ्य केन्द्रलाई विस्तार गरी १५ शय्याको आयुर्वेद अस्पताल निर्माण गर्ने भएको हो ।
कर्णाली प्रदेशअन्तर्गत रहेको कर्णाली आयुर्वेद औषधालयको रुपमा स्थापित स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी अस्पताल बनाउन संघीय सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । बहुवर्षिय योजनाका रुपमा निर्माण हुने १५ शय्या आयुर्वेद अस्पताल निर्माणका लागि पहिलो चरणमा ३ करोड बजेट विनियोजन भएको संघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका सव–इन्जिनियर चन्द्र बहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो,“आयुर्वेद उपचारलाई थप व्यवस्थित तथा गुणस्तर बनाउन सहरी विकास तथा भवन निर्माण विभागले आगामी आव ०८०÷८१ का लागि ३ करोड बजेट विनियोजन गरेको छ । आयुर्वेद अस्पताल निर्माणको कुल लागत २० करोड अनुमान गरिएको । यद्यपि, पहिलो चरणमा ३ करोड बजेट विनियोजन भएको हो । बहुवर्षीय आयोजनाका रुपमा सञ्चालन हुने छ ।”
साँघुरो भवनमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक दर्जनौँ सेवा ग्राहीको भिड लाग्छ । सेवा प्रवाहलाई छिटो छरितो सहज बनाउन संघीय सरकारले बजेटमा १५ शय्याको अस्पताल बनाउन लागेकोमा जुम्लावासी उत्साहित छन् । नागरिक अगुवा राज बहादुर महत भन्छन्,“एलोपेथिक पद्धतिबाट छिटो छरितो स्वास्थ्य लाभ लिन सकिने भएपनि कयौँ रोगहरूको निदान आयुर्वेदिक पद्धतिबाट भइरहेको छ । यस्तो पद्धतिबाट उपचार हुने अस्पताल नै बन्नु खुसीको कुरा हो ।”
दैनिक सयौँले निःशुल्क उपचार पाइरहेको आयुर्वेद केन्द्र स्तरोन्नति भएर अस्पताल हुने भएपछि खुसी लागेको स्वास्थ्य केन्द्रका प्रमुख दन्तप्रसाद न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो,“आयुर्वेद अस्पताल निर्माणका पहलकर्ता चन्द्र खड्का लगायत सबैमा धन्यवाद छ ।
जल,जमिन र जङ्गलको उपयोग तथा स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी औषधि बनाएर उपचार गरिने आयुर्वेद स्वास्थ्य केन्द्र अब अस्पतालमा परिणत हुने छ । यो जुम्लाका ठुलो उपलब्धी हो । यसको कार्यान्वयनमा सबैको हातेमालो जरुरी छ ।”
हाल आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रुपमा ओपिडी र ल्याब सेवा दिँदै आएको छ । निकट भविष्यमै सर्जरी सेवासमेत दिने तयारी गरिरहेको छ । दिसा, पिसाब, रगत, खकार जाँचको सेवासमेत दिदैं आएको स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकले दैनिक रुपमा सेवा दिइरहेका छन् । विगतदेखि बजेट तथा जनशक्ति अभावका बीच पनि केन्द्रले नियमित सेवा दिँदै आएको छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
