
कमला श्रेष्ठ विगत चार दशकदेखि व्युटिपार्लर पेशामा आवद्ध हुनुहुन्छ । नेपालमा यो व्यवसायलाई निरन्तरता दिने उहाँ पहिलो व्युटिसियनको रूपमा चिनिनुहुन्छ । हाल श्रेष्ठ उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित हुनुभएको छ । वि.सं २०३६ सालमा ललितपुर जिल्लामा सैलुन खोल्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । ६५ वर्षीया श्रेष्ठ आजपनि उत्तिकै सक्रिय एवं क्रियाशील हुनुहुन्छ । सौन्दर्यसम्बन्धि व्यवसायिक शिक्षा र तालिम दिने, देशभरका व्यवसायीहरूलाई संगठित गर्ने र विद्यालयको पाठ्यक्रममा शौन्दर्यशास्त्रलाई समावेश गर्न श्रेष्ठको ठूलो योगदान छ । धेरै मेहनतपछि यस विषयलाई नेपाल सरकारले विद्यालयको पाठ्यक्रममा समावेश गरेको छ । श्रेष्ठले यसका लागि आठ वर्ष लामो अथक प्रयास गर्नुभयो । २०७९ देखि सौन्दर्यशास्त्र विषय विद्यालयको पाठ्यक्रममा समावेश भएको छ ।जानौ उहाँको आफ्नै शव्दमा ।
बैंककमा तालिम
श्रीमान यूएनमा जागिरे हुनुहुन्थ्यो । कामको शिलशिलामा उहाँसँगै थाइल्याण्डको बैंकक जाने अवसर मिल्यो । भर्खरै ग्रयाजुएसन सकेको थिएँ । हाम्रो स–साना दुई छोरा थिए । हामी सब परिवार बैंकक सिफ्ट भयौँ । एकदिन बाटोमा हिड्दै गर्दा एउटा सौन्दर्यसम्बन्धी तालिम दिने स्कुल देखेँ । सौन्दर्य पेशालाई करियर बनाउन सक्ने सोचेर ‘फ्रिङ्ग फ्राउ द स्कुल अफ व्युटिफिकेसन’ ट्रेनिङ सेन्टरमा भर्ना भएँ । दुई वर्षे डिप्लोमा कोर्ष सकेर नेपाल फर्किएँ । बैंककबाट सिकेको सीपलाई नेपालमा सदुपयोग गर्न वि.सं २०३६ सालमा ललितपुरको कुपन्डोलमा सयाम व्युटी सैलुन सुरु गरेँ । त्यसपछि नेपालको सौन्दर्य सम्बन्धि व्यवसायिक शिक्षा र तालिम दिने उद्देश्यले सन् १९९२ मा ‘सयाम इन्स्टिच्युट अफ हेयर डिजाइन व्युटी केयर’ ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएँ । यो काउन्सिल अफ टेक्निकल एजुकेशन एण्ड भोकेसनल ट्रेनिङ (सिटिइभिटी) बाट मान्यता पाउने नेपालको पहिलो ट्रेनिङ सेन्टर बन्यो । हालसम्म दशौ हजार विद्यार्थीहरूलाई व्युटिपार्लर सम्बन्धी तालिम दिन सफल भएको छ । पछि पुरुषहरूलाई पनि व्युटिपार्लरको तालिम दिन थाल्यौँ ।
देशभर ४ लाख बढी ब्युटिसियन
देशमा व्युटिसियनहरूको संख्या बढ्न थालेपछि वि.सं २०६४ सालमा देशभरका व्युटिसियनहरुलाई एकत्रित गर्ने उद्देश्यले ‘सौन्दर्यकला व्यवसायी संघ’ नामक छाता संगठन खडा गरियो । उक्त संस्था उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा समाबेश भएको छ । महासंघको निर्वाचनमा ४ पटक वस्तुगत तर्फ केन्द्रिय सदस्यको रुपमा सौन्दर्यकला व्यवसायी संघको प्रतिनिधित्व गर्न सफल भएकी छु । हाल संघमा ५ हजार भन्दा बढी व्युटिसियनहरू आबद्ध छन् ।
देशभर झण्डै ४ लाख भन्दा बढी व्युटिसियनहरू रहेको आङ्कलन छ । हरेक दिन विभिन्न जिल्लाका झण्डै २० देखि ३० जनाले नयाँ व्युटिपार्लर व्यवसाय सुरु गरिरहेका छन् । एउटा पार्लरले कम्तिमा २ जना देखि ४० जना व्युटिसियनलाई रोजगारी दिने गरेका छन् ।

स्वावलम्बी बनाउने व्यवसाय
पछिल्लो समय सौन्दर्य व्यवसायमा महिला र पुरुष दुवैको अकर्षणको केन्द्र भएको छ । करिब ३० देखि ४० प्रतिशत पुरुषहरू पार्लर व्यवसायमा संलग्न रहेको अनुमान छ । सौन्दर्यकला व्यवसायलाई छिट्टै आत्मनिर्भर र स्वावलम्बी बनाउने व्यवसायको रुपमा लिइन्छ । वैदेशिक रोजगारीमा जाने, अध्ययनका लागि विदेशमा जाने, डिभी परेर जाने, छोराछोरीलाई भेट्न जाने जो कोहीले व्युटिपार्लर सम्वन्धि तालिम लिन्छन् । स्वदेशको तुलनामा विदेशमा प्रशस्त रोजगारीका अवसर पाइन्छ । राम्रो तालिम र प्रमाणपत्र लिएका, दक्ष एवं अनुभवी व्युटिसियनहरूले विदेशमा प्रति घण्टा १५ देखि ४० डलर सम्म कमाउन सक्छन् । स्देशमा पनि आफ्ना वरपरका छरछिमेक–नातागोतालाई मेकअप गरेरै भएपनि सीप विकास गर्न सकिन्छ । आफ्नो हात बसेपछि सानो लगानीमा व्यवसाय सुरू गर्न सकिन्छ ।
पाठ्यक्रममा समावेश गर्न संघर्ष
सौन्दर्य विधालाई स्कुलको पाठ्यक्रमा समावेश गरेर ऐच्छिक विषयको रुपमा पठनपाठन गराउनुपर्छ भनेर लामो समय शिक्षा मन्त्रालय र शिक्षा विभाग धाएँ । झण्डै ८ वर्ष लामो अथक प्रयासपछि अन्तत शिक्षा मन्त्रालय र शिक्षा विभागले सौन्दर्यशास्त्रको रुपमा पाठ्यक्रममा समावेश गरेर पठनपाठनको अनुमति दियो ।
काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या स्कुलले नेपालमा पहिलोपटक कक्षा ९ देखि १२ सम्म सौन्दर्यशास्त्रलाई ऐच्छिक विषयको रुपमा अध्यापन सुरु गरिसकेको छ । हाल कक्षा ९ मा ३५ जना र कक्षा ११ मा ४० जना छात्राहरूले सौन्दर्यशास्त्र अध्ययन गरिरहेका छन ।
पढ्दै–कमाउँदै
सौन्दर्यशास्त्र पढ्ने विद्यार्थीहरूले सिकेको ज्ञानलाई तुरुन्तै व्यवहारमा उतार्न पाउँछन् । पढ्दै कमाउन सक्छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका ६० ओटा विद्यालयमा सौन्दर्यशास्त्र विषय पढाइ सुरु गर्ने इच्छा जनाउनुभएको छ । विस्तारै देशभरका विद्यालयहरूमा विस्तार गर्ने लक्ष्य छ । हामीले दक्ष जनशक्ति र पाठ्यक्रम विकासमा पनि विशेष जोड दिएका छौँ ।

ल्यावको आवश्यकता
हरेक फ्याकल्टीलाई जस्तै सौन्दर्यशास्त्र पढ्ने विद्यार्थीहरूका लागि प्रयोगात्मक परीक्षण गर्न ल्याब आवश्यक पर्छ । ल्याबमा फेसियल, मेकअप, हेयर कलर लगायत विभिन्न किसिमका कस्मेटिक प्रोसिजर हुन्छन् । साथै विद्यार्थीहरूले विभिन्न केमिकलहरू प्रयोग गर्न सम्बन्धित शीर्षकअनुसार ल्यावमा स्रोत साधन आवश्यक पर्छ । त्यसैले प्रयोगात्मक कक्षा सञ्चालनका लागि ल्यावको जरूरत छ ।
विकृति
कतिपय कस्मेटिक क्रिममा कडा स्टेरोइड मिसाइएको हुन्छ जसले प्रत्यक्ष छालालाई असर गरिरहेको हुन्छ । कस्मेटिक प्रोसिजरले छालामा हुनसक्ने सम्भावित असर कम गर्न भिटामिन बी कम्पलेक्स, भिटामिन इ, क्याल्सियम जस्ता सम्लिमेन्ट दिनुपर्ने हुन्छ ।
शिक्षा, ज्ञान र सचेतनाको अभावले कसैलाई एलर्जी, कसैलाई मेकअप सुट नगर्ने जस्ता समस्या देखिएको छ । कतिपयले व्युटिसियनले युट्युबमा हेरेको भरमा लेजर चलाइदिन्छन् । उनीहरूलाई स्किनको लेयर कति छ, कुन लेयरमा काम गर्ने, कुन उमेरसमुहलाई कस्तो प्रोसिजर गर्ने, कुन रोग लागेकालाई गर्नु हुन्छ हुँदैन भन्ने केही थाहा छैन ।

नियमन गर्ने निकाय खोइ ?
नेपालमा व्युटिपार्लर कहाँ दर्ता गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन । दुईचार महिना तालिम लिएर कोठामा पार्लर खोल्नेको संख्या धेरै छ । सौन्दर्य व्यवसायीलाई नियमन र नियन्त्रण गर्ने निकाय नहुँदा विकृति फैलिने जोखिम बढेको छ ।
सरकारले व्युटिपार्लर दर्ता गर्ने निकाय, निश्चित मापदण्ड र व्युटिसियनको अनुभव, तालिम अवधि र दक्षताको आधारमा लाइसेन्स लिएर मात्र व्युटिपार्लर खोल्न पाउने नियम बनाउन ढीला भइसकेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

