
किशोरावस्था वा युवावस्थामा धेरैलाई अनुहारमा डण्डिफोरले दुःख दिएको पाइन्छ । वास्तवमा किशोरावस्थामा नै यो किन धेरै आउँछ ? किशोर र युवावस्थामा शरीरभित्र बढ्दो हर्मोनका कारण तेल निकाल्ने ग्रन्थी सक्रिय हुन्छ र धेरै चिल्लो पदार्थ निस्केपछि यो छाला मुनि जमेर छिटो छिटो खटिराको रूप लिन्छ । जसलाई हामी डण्डिफोर भन्दछौं ।
डण्डिफोरको समस्या पाइलोसिवासियस युनिटबाट आउने कण्डिसन हो । यो रोग भन्दा पनि छालाको प्रकारसँग जोडिएको समस्या हो । तेलीय (चिल्लो) छाला भएका व्यक्तिहरूमा निश्चित उमेरमा पाइलोसिवासियस युनिटमा गिर्खाहरू धेरै बन्छन् र डण्डिफोरको रूप लिन्छ ।
खासगरी रौं (कपाल) को जरामा तेल निकाल्ने सिवासियस ग्रन्थी, फोलिकल्स लगायतका विभिन्न तत्व हुन्छन् । जसलाई पाइलोसिवासियस युनिट भनिन्छ । यो छालाको सामान्य बाटो हो । सिवासियस ग्रन्थीले एक प्रकारको चिल्लो पदार्थ निकाल्छ जसलाई सिवम् भनिन्छ । यो नेचुरल मोइच्चराइजिङ एजेन्ट हो । जुन सबैको छालामा हुन्छ ।
यौवनमा डण्डिफोर आउने जाने अनौठो कुरा होइन । यो क्रम चलिरहन्छ । तर डण्डिफोर ज्यादा आएर बिग्रन थालेपछि छालामा समस्या देखिन थाल्छ । अझ पाक्न थालेपछि त दुख्ने, पोल्ने असजिलो महसुस गराउँछ ।
कडा खालको डण्डिफोरले खत छाडेर जान्छ । वास्तवमा यसको उपचार गर्दा ज्यादा डण्डिफोर आउँदा कम गर्ने र कण्डिसनलाई शान्त पार्ने गरिन्छ । निर्मुल पार्न सकिदैन । उमेर बढ्दै गएपछि यो आफैं निको हुन्छ ।

डण्डिफोरबाट छुटकारा पाउन के गर्ने ?
सामान्य अवस्थाको डण्डिफोरमा छालाको हेरचाहमा जोड दिनुपर्छ । चिल्लो छाला भएकाहरूले सफा राख्नुपर्छ । पाइलोसिवासियस युनिटमा अवरोध हुन नदिन थिक प्रोडक्ट लगाउन हुँदैन ।
मसिना डण्डिफोर निकाल्ने भ्रममा कमेडोजेनिक (डण्डिफोर निकाल्ने) मेकअपका सामाग्री प्रयोग नगर्नुहोला । कमेडोजेनिक भनेको भिजिटेवल तेल हो । वारम्बारको भेजिटेवल तेलको प्रयोगले अनुहारको छालामा मसिना कमेडोजोन्स अर्थात व्ल्याक हेड्सको जन्म हुन्छ ।
डण्डिफोर एकै जातको खटिरामा सिमित हुँदैन । यसमा शुरूमा व्ल्याक र ह्वाइट हेड जातका मसिना खटिरा निस्कन्छन् । यिनीहरू पाक्न थालेपछि रातो खटिरा बन्छ । खटिरा पाकेपछि पिपको पिड्का (पस्च्युल) को रूप लिन्छ । पिप बढेपछि छालामा डल्ला बन्छ जसलाई हामी सिस्ट भन्छौं । यो दुःख्छ र अनुहारमा खत छाडेर जान्छ ।
डण्डिफोरको प्रकारका आधारमा उपचार गर्नुपर्छ । मसिना व्ल्याक र ह्वाइट हेड्समा स्किन केयर गर्न जरूरी हुन्छ । रातो खटिरा र पिप आउने समस्यामा औषधिले न्युनिकरण गर्नुपर्छ । खटिरा सिस्ट बनिसकेको अवस्थामा अलि कडा औषधिको आवश्यकता पर्नसक्छ । डण्डिफोरको प्रकार, उमेर र छालाको प्रवृत्तिमा औषधि फरक प्रयोग गर्नुपर्ने हुनसक्छ । सबैलाई एउटै उपचार सूट गर्दैन ।
खासगरी कडा खालका डण्डिफोरको उपचार ४ देखि ६ महिनासम्मको हुन्छ । यो वीचमा औषधिको मात्रा बढाउने वा घटाउने निर्णय गर्न क्रमिक रूपमा डाक्टरको सल्लाह र परामर्शको जरूरत पर्छ ।
लेट अनसेट डण्डिफोर
यौवनमा आउने डण्डिफोरबाहेक लेट अनसेट डण्डिफोर पनि देखिनसक्छ । यो एउटा उमेर गएपछि हुन्छ । यसमा एउटै कारण हुँदैन । जुन छालाको प्रकार, तेल निकाल्ने ग्रन्थी, हर्मोनको कारण मात्र नभई धेरैपटक औषधिहरूको प्रयोग र मल्हमहरूको असरले आउनसक्छ । यस्ता डण्डिफोरमा कारण केलाउनुपर्छ र विज्ञको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।
अनुहारमा कागति
कागतिमा सिट्रिक एसिड हुन्छ । यसले छालामा भएको चिल्लो कम गर्ने भएकाले कतिपयले घरेलु उपचारका रूपमा प्रयोग गरेको पाइन्छ । तर कागति प्रयोग गर्ने तरिका नमिलेमा कहिलेकाँही फाइदाको सट्टा वेफाइदा पनि गर्नसक्छ ।
तसर्थ सामाजिक सञ्जालमा देखेको÷सुुनेको भरमा जथाभावी मल्हम/क्रिमको प्रयोग गर्नाले धेरैको छालामा वेफाइदा भएको भेटिएको छ । समयमै छाला रोग विशेषज्ञसँग परामर्श लिई उपयुक्त उपचार गर्नाले डण्डिफोर र यसले छाड्ने दागलाई कम गर्न सकिन्छ ।
(डा. श्रेष्ठ द स्किन आर्टस् एस्थेटिक्समा कार्यरत हुनुहुन्छ ।)
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
