
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरको उपचारमा गुणस्तरीय पहुँच सुनिश्चित गर्नु सामूहिक दायित्व आवश्यक हुने बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा कान्तीबाल अस्पतालद्वारा आज यहाँ आयोजित ‘नेपालमा बाल्यकाल क्यान्सरको उपचार पहल’सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बालबालिकाको सामाजिक, आर्थिक, पृष्ठभूमि जस्तोसुकै भए पनि क्यान्सरको गुणस्तरीय उपचारका पहुँचमा सरोकारवाला सबैको दायित्व भएको बताउनुभयो । यसका लागि सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
“हामी एउटा समाज सिर्जना गर्न सक्छौँ, जहाँ बाल्यकालको क्यान्सर अब विनाशकारी निदान होइन तर व्यवस्थापन गर्न सकिने होस्”, मन्त्री बस्नेतले भन्नुभयो ।
मन्त्री बस्नेतले बाल्यकालको क्यान्सरविरुद्ध बाल चिकित्सा ‘ओन्कोलोजी’का विज्ञले दिएको सुझाव महत्वपूर्ण हुने बताउनुभयो । “ज्ञान र अनुभवको आदानप्रदान र सहयोगात्मक प्रयासले बाल्यकालको क्यान्सरविरुद्ध निःसन्देह दूरगामी फाइदा दिनेछ”, उहाँले भन्नुभयो ।
उहाँले बाल्यकालको क्यान्सरविरुद्धको लडाइँमा उज्यालो भविष्य निर्माण गर्न नेपाली स्वास्थ्यकर्मीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रहसमेत गर्नुभयो । “नेपालमा बाल्यकालको क्यान्सर निदान निकै चुनौतीपूर्ण छ, अमूल्य छलफल, गहन अन्तर्दृष्टि, र दीगो परिवर्तनलाई मार्गदर्शन गर्ने स्थायी सहयोगका लागि तालिम तथा कार्यशालाले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव टङ्क बराकोटीले बाल्यकालको क्यान्सरबाट ग्रसितको अनुगमन गरी उपचारको पहुँचमा पु-याउन सरोकारवालाई आग्रह गर्नुभयो ।
डब्लुएचओका हेडक्वार्टरका डा रोबोर्टाले पछिल्लो समय क्षमता अभिवृद्धिका कारण बाल्यकालको क्यान्सरविरुद्धका प्रयास सफल हुँदै गएको उल्लेख गर्दै चुनौतीको सामना गर्न सदैव तयार रहनुपर्ने बताउनुभयो ।
कान्तीबाल अस्पतालका निर्देशक डा युवानिधि बसौलाले प्रत्येक बालबालिकालाई रोगले आक्रमण गर्नसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै बाल्यकालको क्यान्सरविरुद्धको अभियानमा साथ दिन आग्रह गर्नुभयो ।
दुई दिने कार्यशालामा डब्लुएचओका दक्षिण पूर्वी एशियाली राष्ट्रका प्रतिनिधि तथा क्यान्सर उपचार गर्ने नेपालका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीको उपस्थिति छ ।रासस
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
