
जनस्वास्थ्य सरोकार, दोधारा चाँदनी । महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल १५ जना मात्रै कार्यरत छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालमा बिरामीको चाप बढी भएको र दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या भएको बताउनुभयो । हाल अस्पतालमा जनरल फिजिसियन, गाइनो, एमडिजीपी, हाडजोर्नी रोग विशेषज्ञ, प्याथालोजिष्ट र एनएसथेसिया लगायतका विशेषज्ञ मात्रै छन् ।
“विशेषज्ञ चिकित्सक पनि एक जना मात्रै हुँदा शल्यक्रियादेखि बिरामीको जाँच एउटै चिकित्सकले गर्नुपरेको छ विरामीको चाप धेरै छ”, उहाँले भन्नुभयो “विशेषज्ञ बाहेकका अन्य मेडिकल अधिकृत, नर्सिङ, ल्याबका स्वास्थ्यकर्मीहरु समेत अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ ।”
अस्पतालको सेवा विस्तार हुँदै गएपनि स्थापनाकालदेखि दरबन्दीअनुसारका चिकित्सक नहुँदा यहाँका नागरिकले स्वास्थ्य उपचारको लागि सीमावर्ती शहर अथवा धनगढी धाउनुपर्ने बाध्यता छ । “सामान्य शल्यक्रियाका लागि एक सातासम्म विरामीले कुर्नुपर्ने अवस्था छ”, भट्टले भन्नुभयो “एउटै विशेषज्ञ चिकित्सक हुँदा समस्या भएको छ त्यसैले हामीले बारअनुसार सेवा दिने गरेका छौँ ।”
यहाँ विशेषज्ञ चिकित्सक आउन नमान्ने गरेको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष अशोक पाण्डेयको अनुभव छ । “हामीले अस्पतालमा विशेषज्ञ चिकित्सक ल्याउन धेरै प्रयास ग¥यौ, चिकित्सकहरु आउन मानेनन”, उहाँले भन्नुभयो “यहाँ आम्दानी कम छ निजी मेडिकल छैनन, अस्पतालबाट अतिरिक्त सुविधा उपलब्ध गराउन सकिएको छैन ।”
विगतमा चिकित्सकमाथि हुने धरपकडले पनि महेन्द्रनगरमा चिकित्सक आउन नचाहने उहाँको बुझाइ छ । स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा समेत राजनीतिक हस्तक्षेप हुन थालेपछि अस्पतालको सेवा प्रवाहमा समस्या हुने गरेको यहाँका स्थानीय मदन चन्दको भनाइ छ ।
“राज्यले स्पष्ट कानुन बनाउन नसक्दा कर्मचारी भनेको ठाउँमा जादैनन”, उहाँले भन्नुभयो “जनप्रतिनिधिले समेत चासो नदिएका कारण दरबन्दी अनुसारका चिकित्सक अभाव भइरहेको छ ।”
विसं २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको महेन्द्रनगरस्थित महाकाली प्रादेशीक अस्पताल २०३१ सालमा २५ शय्याको जिल्ला अस्पतालमा रुपान्तरण भएको थियो । जिल्ला अस्पतालमा रुपान्तरण भएपनि जनशक्ति अभावका कारण १५ शय्यामा मात्रै सञ्चालन भएको थियो ।
जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर) का रुपमा परिणत भए पनि अस्पतालले आवश्यकता अनुसारको जनशक्ति पाउन सकेको थिएन । अस्पताल सञ्चालनका लागि विसं २०४५ सालमा अस्पताल समिति विकास गठन भएको थियो । विसं २०६१ सालमा निजी स्रोतबाट सञ्चालन हुने गरी ५० शय्या थप गरी एक सय शय्याको सञ्चालन गर्न स्वीकृती प्राप्त भयो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
