
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा. डा. चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गर्नुभयो ।
फाउन्डेशनले सन् २०२३ का लागि करिब आठ हजार आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सङ्घलाई अनुदान रकम उपलब्ध गराउने छ । सङ्घले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित नागरिकको निःशुल्क आँखाको उपचार गर्ने सङ्घका महासचिव भरतबहादुर चन्दले बताउनुभयो ।
“सङ्घले आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न नपरोस् भनेर जनताको घरदैलोमै सहज, सुलभ र सस्तोरुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । यसका लागि विभिन्न दातृ निकायसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन भइरहेको छ”–उहाँले भन्नुभयो ।
डाक फाउन्डेसनको सहयोगमा अहिलेसम्म करिब पाँच लाख बिरामीले आँखा परीक्षण गरेका छन् भने ५२ हजार बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले बताउनुभयो ।
सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति सङ्घको योजनामा डाक फाउन्डेसनले महत्वपूर्ण सहयोग पु-याइरहेको सङ्घका कार्यकारी निर्देशक डा. शैलेसकुमार मिश्रले बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घले हाल देशभरमा २७ आँखा अस्पताल, एक सय ५४ आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखामार्फत आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ । रासस
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

