
जनस्वास्थ्य सरोकार, तनहुँ । आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई दश लाखभन्दा बढी मूल्यको थाइराइड मेशिन प्रदान गरेका छन् ।
गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाईपाई आएको पारिश्रमिकबाट थाइराइड मेशिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकामा दरबन्दी र करारका गरी एक सय ३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयोे ।
गत जेठ ३१ गते बसेको कर्मचारीको बैठकले कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरी अस्पताललाई प्रदान गर्ने विषयमा सर्वसम्मत निर्णय भएपछि सहयोग गरेको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शर्मा लगायतका कर्मचारीले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा धनबहादुर क्षेत्रीलाई उक्त मेशिन हस्तान्तरण गर्नुभएको हो ।
अस्पतालमा थाइराइड परीक्षण गर्ने मेशिन नहुँदा थाइराइडका बिरामी उपचारका लागि अन्यत्र धाउनु परेकाले मेशिन आएपश्चात् सहज हुने विश्वास गाउँपालिकाले गरेको छ । गाउँपालिकाभित्र धेरै थाइराइडका बिरामी रहेकाले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेपछि कर्मचारीले मिलेर मेशिन खरिद गरी अस्पताललाई दिएपछि उपचारमा सहज भएको छ ।
गाउँपालिकाभित्रका नागरिकले सहज रुपमा घरदैलोमा सेवा पाउने हुँदा सबै कर्मचारीको सकारात्मक सहयोगबाट मेशिन खरिद कार्य सहज हुने उहाँले बताउनुभयो। कार्यालय सहयोगी, सुरक्षा गार्ड, सरसफाइ क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीलाई यस अभियानमा सहयोग गर्न अनिवार्य नगरिए पनि स्वस्र्फूत आफूले सकेको आर्थिक सहयोग गरेका थिए ।
उक्त अभियानलाई सफल बनाउन अहोरात्र खटिने कर्मचारीप्रति प्रमुख प्रशासकीय अधिकृत शर्माले धन्यवादसमेत व्यक्त गर्नुभयो । उक्त कार्यका लागि गाउँपालिका मातहतका सबै कर्मचारीले तहअनुसारको तलबबाट सहयोग रकम कट्टा गरी अस्पताललाई मेशिन प्रदान गरेर उदाहरणीय कार्य प्रस्तुत गरेको गाउँपालिकाका अध्यक्ष चुमानले बताउनुभयो।
गाउँपालिकामा कार्यरत कर्मचारीले आफ्नै पारिश्रमिकबाट अस्पतालका लागि थाइराइड मेशिन खरिद गरी हस्तान्तरण गरेपछि स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । रासस
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
