
जनस्वास्थ्य सरोकार, काठमाडौं । कुनै बेला एड्सलाई प्राणघातक रोगका रूपमा लिने गरिन्थ्यो तर अहिले संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जम्मा सात वर्षमा यो रोग उन्मूलन हुन सक्ने देखाएको छ ।
संयुक्त राष्ट्रसङ्घको एउटा नयाँ प्रतिवेदनले महत्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूले पूर्ण रूपमा आर्थिक स्रोत प्राप्त गरेपछि सन् २०३० सम्ममा संसारबाट एड्स उन्मुलन हुने दिशामा रहेको जनाएको छ ।
एचआईभी लागेका ६५ प्रतिशत मानिसहरू सब–सहारा अफ्रिकामा बस्छन् । सो क्षेत्रले एड्सको उन्मुलनको क्षेत्रमा ठूलो फड्को मारेको छ ।
बोत्स्वाना, इस्वाटीनी, रुवान्डा, तान्जिनिया र जिम्बाब्वेले ९५–९५–९५ लक्ष्य पुरा गरिसकेको यूएनएड्सले जनाएको छ ।
यसको अर्थ एचआईभी भएर बाँचिरहेका ९५ प्रतिशत मानिसहरूलाई आफ्नो एचआईभीको अवस्थाका बारेमा थाहा छ भने त्यस्तो जानकारी भएका ९५ प्रतिशत व्यक्तिहरूले एन्टीरेट्रोभाइरल उपचार प्राप्त गरिरहेका छन् । उपचार पाइरहेका ९५ प्रतिशत व्यक्तिहरूले भाइरसलाई दबाइदिएका छन् जसले त्यो भाइरस अरूमा सार्ने सम्भावना लगभग समाप्त पारेको छ ।
सब–सहारा अफ्रिकाका थप ८ सहित अन्य १६ देशहरू पनि उक्त लक्ष्यको नजिक छन् ।
‘एड्सको अन्त्य आजका नेताहरूका लागि एउटा शक्तिशाली उदाहरण प्रस्तुत गर्ने अवसर हो’, यूएनएड्सकी कार्यकारी निर्देशक विन्नी ब्यानयीमाले भन्नुभयो ।
तर यूएनएड्सले कम तथा मध्य आय भएका देशहरूलाई साढे ८ अर्ब डलर बजेट अभाव रहेको पनि उल्लेख गरेको छ । सन् २०२२ मा प्रत्येक एक मिनेटमा एक जनाले एड्सका कारण ज्यान गुमाइरहेको उल्लेख गर्दै त्यस्तो प्रगति जुन बेला पनि गुम्नसक्ने उहाँको भनाइ छ ।
किशोरीहरू जोखिममा
तर कैयौँ चुनौतीहरू सम्बोधन हुन अझै पनि बाँकी छन् । प्रत्येक हप्ता ४ हजार किशोरी र कम उमेरका महिलाहरूमा एचआईभीको नयाँ सङ्क्रमण थपिने गर्छ ।
यति प्रगतिका बाबजुद सन् २०२२ का नयाँ एचआईभी सङ्क्रमणका ६३ प्रतिशत घटना सब–सहारा अफ्रिकाका महिला र किशोरीमा देखिएको थियो । एचआईभी खोपको परीक्षण युगान्डा, तान्जिनिया र दक्षिण अफ्रिकामा भइरहेको छ ।
दक्षिणी अफ्रिकाको वोत्स्वानामा किशोरीहरू खतरामा छन् । त्यहाँ आफूभन्दा धेरै बढी उमेरका पुरुषहरूले किशोरीहरूलाई सिकार बनाउने हुँदा त्यसलाई ‘अन्तर–पुस्ता यौन सम्बन्ध’ का रूपमा चित्रण गर्ने गरिन्छ ।
सबै तथ्याङ्कले एचआईभी सङ्क्रमित महिलाको तुलनामा स्वास्थ्य सहयोग लिन पुरुषहरूमा हिचकिचाहट रहेको देखाएको छ ।
वोत्स्वानाले धार्मिक नेताहरूलाई प्रयोग गरेर पुरुषहरूको त्यस्तो व्यवहार बदल्ने र एचआईभी सङ्क्रमण रोक्ने प्रयास गरिरहेको छ ।
नेशनल एड्स एन्ड हेल्थ प्रोमोसन एजेन्सीका प्रमुख ओन्टाइरेट्से लेटहारेले सन २०३० सम्म एचआईभी उन्मूलन गर्ने दिशामा बोत्स्वाना उन्मुख रहेको बताउनुभयो । धार्मिक नेताहरूले त्यसका लागि महत्वपूर्ण भूमिका खेल्ने सक्ने उहाँ बताउनुहुन्छ ।
बाँकी विश्वको अवस्था कस्तो छ ?
बाँकी विश्वमा उक्त प्रवृत्ति त्यति सकारात्मक छैन । राष्ट्रसङ्घका अनुसार एक चौथाइ नयाँ एचआईभी सङ्क्रमण सन् २०२२ मा एसिया प्रशान्त क्षेत्रमा देखिएको थियो ।

पूर्व युरोप र मध्य एसियामा पनि निरन्तर नयाँ सङ्क्रमण उकालो लागिरहेको छ । त्यसै गरी मध्यपूर्व र उत्तर अफ्रिकामा पनि त्यस्तै प्रवृत्ति देखा परेको छ ।
तर पीआरइपी नामक उपचार पद्धतिले केही आशा भने दिएको छ । पूर्वी एसियाको कम्बोडियाले जोखिममा रहेका यौनकर्मी एवं समलिङ्गी तथा पारलैङ्गिक समुदायलाई ती औषधि निःशुल्क उपलब्ध गराएको छ ।
दैनिक रूपमा सेवन गर्नुपर्ने चक्की एचआईभीको उपचारको लागि प्रयोग गरिन्छ । एचआईभी नेगेटिभ व्यक्तिले पनि निरोधात्मक औषधिका रूपमा त्यसलाई लिनसक्छन् ।
कम्बोडियामा ७६ हजार मानिसहरू एचआईभीसहित बाँचिरहेका छन् । सो संख्याको ८६ प्रतिशत मानिसहरूलाई आफ्नो स्वास्थ्य अवस्थाका बारेमा थाहा छ र, त्यसमध्ये लगभग ९९ प्रतिशतको पहुँच उपचारमा छ ।
सन् १९९६ को तुलनामा नयाँ सङ्क्रमण ९१ प्रतिशतले कम भएको छ । तर हरेक दिन कम्तीमा चार जना व्यक्तिहरू सङ्क्रमित भइरहेका छन् जुन प्रमुख चिन्ताको विषय हो । एजेन्सी
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
