
जनस्वास्थ्य सरोकार, काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालको सेवा विस्तार गरिएको छ । अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अस्पतालमा हाल ओटी (अप्रेसन थिएटर) , डायलाइसिस सेवा थपिएको छ । काठमाडौँस्थित गङ्गालाल अस्पतालको सहकार्यमा हृदयाघात सम्बन्धी उपचार सेवा, मानसिक स्वास्थ्य अस्पताल पाटनको सहकार्यमा मानसिक स्वास्थ्य सेवालगायत आइसियु, भेन्टिलेटरसहित अस्पतालका सम्पूर्ण सेवालाई थप प्रभावकारी बनाइएको अस्पतालका प्रमुख डा. मधुकर दाहालले बताउनुभयो। उहाँका अनुसार जनशक्ति व्यवस्थापन गरी हाल सुरु गर्न लागिएको डायलाइसिस सेवाले मिर्गौला रोगीका लागि निकै राहत पुग्नेछ ।
अस्पतालमा २४ सै घन्टा आकस्मिक सेवाका साथै प्रयोगशाला, एक्स–रे, प्रसूति, फार्मेसी तथा अन्य सेवा विस्तार गरी गरिएको डा. दाहालले बताउनुयो । “सेवा प्रभावकारी बनाउँदै लगिएकाले बिरामीको विश्वास बढेको छ । गुणस्तरीय प्रयोगशालाका कारण स्थानीय तथा छिमेकी जिल्ला सिन्धुलीका नागरिकले पनि सेवा लिएका छन्”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार पचास शैय्यामा सञ्चालित यस अस्पतालले गम्भीर समस्या भई बाहिर पठाउनु पर्ने९रिफर० बिरामीको सङ्ख्या घटाउँदै लगेको छ ।
त्यस्तै विभिन्न विपद्का समयमा घाइते भएका, सडक दुर्घटना तथा आकस्मिक सेवामा आउने बिरामीको सहजताका लागि आवश्यक तयारी गरिएको डा। दाहालले जानकारी दिनुभयो ।
बाह्र दक्ष चिकित्सकसहित ६८ जना कर्मचारी रहेको उक्त अस्पतालले सामान्य चिरफार, स्वास्थ्य विमा कार्यक्रम, रेविजविरुद्धको खोप, महामारी नियन्त्रण, एचआइभी एड्स नियन्त्रण, क्षयरोग, कुण्ठरोग, किटजन्य रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैगरी हरेक शनिबार ‘मुख्यमन्त्री जनता स्वास्थ्य सेवा कार्यक्रम’समेत सञ्चालन भइरहेको छ ।
दाहालका अनुसार अस्पतालले बिरामीका लागि निःशुल्क खाना र खाजाका साथै सुत्केरी महिलाका लागि विशेष खानाको व्यवस्था गरेको छ । अस्पतालमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगर, तेमाल, रोशी, महाभारत, पाँचखाल नगर तथा रामेछाप, सिन्धुली, दोलखा, खोटाङ, ओखलढुङ्गा तथा बिपी राजमार्ग हुँदै यात्रा गर्ने अधिकांशले सेवा लिँदै आएका छन् ।
अस्पतालले शल्यक्रियाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरी महिलाको पाठेघरको उपचार, हड्डीको समस्या, हर्निया तथा हाइड्रोसिलका बिरामीको उपचार सुरु गर्ने जनाएको छ । जिल्ला अस्पतालको मान्यता दिइएको उक्त अस्पताललाई प्रादेशिकस्तरको बनाउन सेवा विस्तारमा तीव्रता दिइएको हो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
