जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ तारेखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । विश्वभर मनाइने स्तनपान सप्ताहले आमाको दूधको फाइदाबारे जनचेतना जगाउने र स्तनपानलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।

सन् २०२३ मा विश्व स्तनपान सप्ताहको विषयवस्तु स्तपान र काममा केन्द्रित छ । यस वर्षको नाराले कार्यस्थलमा स्तपानलाई वढावा दिन प्रेरित गरेको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने यसको मुख्य थिम रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, आधा बिलियन भन्दा बढी कामदार महिलालाई राष्ट्रिय कानूनमा आवश्यक मातृत्व सुरक्षा दिइएको छैन । केवल २० प्रतिशत देशहरूले रोजगारदाताहरूलाई विश्राम र स्तनपानका लागि सुविधाहरू प्रदान गर्न आवश्यक छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिना सम्म स्तनपान गराउन हरेक आमालाई प्रेरित गर्दै एक हप्ता सम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।
स्तनपानको महत्व प्रवद्र्धन गर्न मनाइने यो वार्षिक अभियान हो । आमा र बच्चाबीचको निकटता बढाउने अवसरको रुपमा यो दिवसलाई लिने गरिएको छ ।
स्तपानको फाइदा के छ ?
गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाका लागि अमृत समान मानिन्छ । यसले बच्चामा धेरै रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउन मद्धत गर्छ ।
पटकपटक दुध चुसाउने आमाहरुमा अस्थायी गर्भनिरोधको अवधि बढेर जाने उल्लेख छ । स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति आमाको दूधबाट प्राप्त गर्दछन् । आमाको दूधमा रोगाणु नाशक तत्वहरु रहेका हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व प्राप्त हुन्छ जसले शिशुहरूको शरीरमा फलाम तत्व प्रदान गर्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।
बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तन सम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।
बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान नपाएका शिशुहरुमा बाल्यकालमा शुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरुमा अपेक्षाकृत वुद्धि विकास समेत नहुने हुन्छ । यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग समेत हुनसक्छ । त्यसैले ६ देखि ८ महिना सम्म शिशुहरूका लागि आमाको दूध जीवन रक्षक आहार पनि हो ।
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइन्छ । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ । नियमित र निश्चित अवधि सम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ ।
नेपालमा स्तनपान सम्बन्धी कानुनी व्यवस्था
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरिएको छ । यसमा आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था छ ।
सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी सङ्घसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउन आवश्यक व्यवस्था मिलाउनु पर्ने उल्लेख छ । हरेक कार्यालय, स्कुल, बस, पार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्था गरेको छ । स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको छ । स्तनपानलाई र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा प्रावधानहरू रहेका छन् । प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवद्र्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्नेछ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
