
जनस्वास्थ्य सरोकार, ओखलढुङ्गा । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिकास्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । छ महिनायता चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ ।
आँखा जाँच, औषधि तथा चस्मा वितरण सेवालाई जिल्लामा सञ्चालित अस्पताल र गाउँगाउँका पालिकास्तरमै पुर्याइएको छ । जीवनभर कहिल्यै आँखा परीक्षण नगरेकाले समेत आँखा जाँच गराएर सेवा लिएका छन् भने आँखा नदेख्ने कतिपय शल्यक्रियापछि आँखा देख्ने भएका जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख टीका राईले जानकारी दिनुभयो ।
केन्द्रबाट दुई हजार नौ सय २२, ओखलढुङ्गा सामुदायिक अस्पतालमा रहेको केन्द्रबाट ६ सय ६९, खिजीदेम्बाको ग्रामीण आँखा केन्द्रबाट पाँच सय १२, मोतिराज ग्रामीण आँखा केन्द्र मानेभञ्ज्याङबाट तीन सय ४१ र लिखु ग्रामीण आँखा केन्द्रबाट दुई सय ८१ जनाले आँखाको उपचार गराएको उहाँले बताउनुभयो ।
यस्तै केन्द्रले विगत ६ महिनामा रु ३८ लाख ५६ हजार आम्दानी गरेको छ । सेवा उपलब्ध गराउँदा रु ३३ लाख खर्च भएको प्रमुख राईले जानकारी दिनुभयो । १७ वर्षअघि स्थापना भएको उक्त केन्द्रमा सेवा लिनेको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ । मासिक झण्डै ६ सयको हाराहारीमा सेवाग्राही उपचारका लागि आउने गरेका छन् । जिल्लामा आँखा जाँच तथा उपचार सेवा प्रभावकारी बन्दै गएको सिद्धिचरण नगरपालिकाका निवर्तमान नगर प्रमुख तथा रेडक्रसका पूर्वसभापति मोहनकुमार श्रेष्ठले बताउनुभयो ।
उनकै पहलमा जिल्लामा सामुदायिक आँखा उपचार केन्द्र स्थापना भएको हो । ‘हाल गाउँगाउँमा सेवा पुगेको छ’, श्रेष्ठले भन्नुभयो । विद्यार्थीको आँखा जाँच तथा उपचार कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ । जीदेम्बा, मानेभञ्ज्याङ, लिखुलगायतका स्थानीय तहले आँखा केन्द्र स्थापना गरेर सेवा प्रवाह थालेका छन् । रासस
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

