
जनस्वास्थ्य सरोकार, रुकुमपूर्व । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएको थियो ।
उहाँ बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेको थियो । डेङ्गुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्रराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार राईमा ज्वरो आउने र घाँटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो ।
पछिल्लो समय डेङ्गु बढ्दो क्रममा रहेकाले अस्पतालमा उपचारका लागि आउनेमध्ये लक्षण देखिएका शङ्कास्पद बिरामीमा परीक्षण गर्ने गरिएको डा. कोइरालाले बताउनुभयो । सोही क्रममा राईको परीक्षण गर्दा जिल्लामै पहिलो पटक एक जनामा डेङ्गु पोजेटिभ देखिएको उहाँको भनाइ थियो ।
“अहिले अस्पतालमा डेङ्गु परीक्षण गर्ने किट सङ्ख्या न्यून मात्रामा छ । अब एक–दुईजना नयाँ सङ्क्रमित थपिनेबित्तिकै ज्वरो आउने सबैमा परीक्षण गर्नुपर्ने हुन्छ”, डा. कोइरालाले भन्नुभयो–“हामीसँग किट कम भएकाले त्यतिबेला समस्या पर्न सक्छ ।” जिल्लामा आवश्यक पर्ने किट उपलब्धताका लागि सरोकारवाला निकायसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लामा सङ्क्रमण देखिएपछि अन्यमा पनि डेङ्गु हुनसक्ने भएकाले सबैले आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

