
जनस्वास्थ्य सरोकार, महोत्तरी । महोत्तरीको उत्तरवर्ती बर्दिबास–१३ बिजलपुरामा प्रसूतिकक्ष तथा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएको छ । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले शनिबार ती स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् ।
आफ्नो बस्तीमा प्रसूतिकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि बर्दिबास–१२, १३ बिजलपुराका बासिन्दा खुशी भएका छन् । सानो–तिनो उपचारका लागि टाढा अस्पताल जानुपर्ने झन्झट र खर्चिलो उपचारबाट राहत पाइने बर्दिबास–१२ की गीतादेवी महतोले बताउनुभयो । यहीँ नै प्रसूतिकक्ष सञ्चालनमा आएपछि ज्यान जोखिममा पारेर घरमै बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य हुने उहाँको भनाइ छ ।
बिजलपुरा प्रसूतिकक्ष र स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउने बर्दिबास नगरक्षेत्रको दोस्रो सरकारी स्वास्थ्य संस्था हो । यसअघिदेखि नै बर्दिबास अस्पतालले यी सेवा दिँदै आएको छ ।
सो अवसरमा नगरप्रमुख क्षेत्रीले बिजलपुरा स्वास्थ्यचौकीलाई एक महिनाभित्र एम्बुलेन्स दिइने घोषणा गर्नुभयो । बिजलपुरा स्वास्थ्यचौकीमा थपिएको सेवाले गौशाला, भङ्गाहा र औरही नगरपालिकाका १० भन्दा बढी बस्ती र बर्दिबासकै वडा नं ८ र ९ का सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ । भङ्गाहाका ४, ६ र ७ औरहीका १ र २ एवं गौशालाका १ र ३ वडा बिजलपुरासँग जोडिएका बस्ती हुन् । त्यसैगरी बर्दिबासका ८ र ९ पनि बिजलपुरासँग जोडिएका छन् ।
गौशाला नगरपालिकाका प्रमुख डा. दीपेन्द्र महतोसहितका सर्वसाधारणको उपस्थिति थियो । बिजलपुराका अगुवा समाजसेवी कृष्णप्रसाद पौडेलले करिब एक करोड ५० लाख मूल्य पर्ने पाँच कठ्ठा जग्गा स्वास्थ्यचौकी निर्माणका लागि एक दशक पहिले नै निःशुल्क प्रदान गरेका थिए । सोही जगगामा निर्मित आधुनिक भवनमा स्वास्थ्यचौकी सञ्चालन छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
