
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या (कन्जंक्टिभाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ ।
अहिले आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो । आँखा अस्पतालहरुमा आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा कन्जंक्टिभाइटिसको समस्या देखिएको नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताउनुभयो ।
“सुरुआतमा भारतको सीमावर्ती क्षेत्रहरुमा मात्र कन्जंक्टिभाइटिसको समस्या देखिएको थियो । अहिले देशैभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने दैनिक आँखा जाँच गराउने बिरामीमध्ये ५० प्रतिशतमा कन्जंक्टिभाइटिसको समस्या देखिएको छ”, उहाँले भन्नुभयो ।
सङ्घको तथ्याङ्कअनुसार अहिले दैनिक आँखाजाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा मात्रै करिब ८० प्रतिशत बिरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् । सङ्घका महासचिव भरतबहादुर चन्दले देशैभर कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न सङ्घअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरेको समेत जनाकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत देशका विभिन्न जिल्लामा भाइरल कन्जंक्टिभाइटिस देखिएकोले सतर्क रहन सुझाव दिनुभयो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे एकदेखि दुई हप्तामा आफैँ निको हुने हुँदा स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगर्न सुझाब दिनुभयो । दृष्टि कम हुनेलगायतका आँखासम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्था सम्पर्क गर्नुपर्ने चिकित्सकहरुले बताउनुभयो ।
चिकित्सकका अनुसार भाइरल कन्जंक्टिभाइटिसले आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने वा कचेरारचिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने र दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने लक्षण देखिन्छ । हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भए तापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको छ ।
“भाइरल कन्जंक्टिभाइटिस सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले रोकथामका भनेको सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नजाने र सङ्क्रमित व्यक्ति भीडभाडबाट बच्नुपर्छ ।”
यस्तै सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने जथाभावी आँखा नछुने र आँखा छुनु परेमा छुनुअघि वा छोइसके पछि साबुनपानीले मिचीमिची राम्रोसँग हात धुनपर्छ ।
नेपाल नेत्रज्योति सङ्घको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्राडा ज्ञानेन्द्र लामिछानेले भन्नुभयो– “यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिई सावधानी अपनाउनुपर्छ । यस्ता बिरामीको आँखामा हेर्दैमा सर्दैन, बिरामीको आँखाबाट आएको आँसु मिसिएको वस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्नेसक्छ ।” रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
