
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब ६ महिना अगाडि आगलागीमा परी घाइते भएका उहाँको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा.डा. शङ्कर राईले जानकारी दिनुभयो ।
पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उहाँको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ । उहाँको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकीमूलका चिकित्सक डा. तिमोथी स्प्रौलसमेत आउनुभएको अस्पतालका प्रमुख डा. राईले बताउनुभयो । नेता भण्डारीले आफ्नो उपचारका लागि राज्यले दिएको रकम पनि फिर्ता गर्ने घोषणा गरेकाले डा. स्प्रौल आफ्नै खर्चमा डा. भण्डारीको शल्यक्रिया गर्न आउनुभएको हो ।
डा. स्प्रौललाई परराष्ट्रमन्त्री एनपी साउद र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको डा. भण्डारीका सहयोगी वोधराज कँडेलले जानकारी दिनुभयो । डा. भण्डारीको शल्यक्रिया डा. स्प्रौलसँगै प्रा.डा. बिडी झा, प्रा.डा. शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा.अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, ड.प्रविन गिरी, डा.निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोलीले गर्नेछ ।
गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा. भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बइमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
कीर्तिपुर बर्न अस्पतालका प्रमुख डा राईसँग परामर्श र निगरानीमा नै उहाँलाई फ्रन्टलाइनमा उपचार गराइएको थियो । अस्पतालमा उहाँलाई फिजियो थेरापी, ड्रेसिङलगायतका उपचार गराइएको थियो । उहाँको उपचारका लागि अस्पतालले पनि शुल्क नलिने घोषणा गरेको थियो । राज्यले दिएको रकम फिर्ता दिएकाले उनलाई सहयोग गर्न चाहनेहरू झन् बढेको उहाँका निकटस्थहरूले बताएका छन् । रासस
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

