
जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा. डा. श्यामराज रेग्मी र प्रा. डा. विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो ।
दश वर्षसम्म काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आएका प्रा. डा. रेग्मीले सिएमसी क्याथल्याब सुरु गरेपछि यस क्षेत्रका बिरामी बाहिर जानु परेको छैन भने काठमाडौँलगायत अन्यसहरबाट समेत मुटुको उपचारका लागि यहाँ आउने गरेको पाइएको छ ।
क्याथल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार विसं २०७० भदौ ११ गतेदेखि हालसम्म अस्थायी पेसमेकर तीन सय २० जनामा, स्थायी पेसमेकर तीन सय जनामा, क्रोनरी एन्जीयोग्राफी तीन हजार पाँच सय जनामा, क्रोनरी एन्जीयोप्लास्टीक दुई हजार पाँच सय पाँच जनामा गरिएको थियो । मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी) १५ जनामा, मुटुमा जमेको पानी तान्ने एक सय ५० जनामा, मुटुको आसपासका नसाको एन्जीयोग्राफी १५० जनामा र मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन दुई सय ५० जनामा शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।
डा. रेग्मीका अनुसार सात वर्षदेखि ९६ वर्षसम्मका बिरामीको मुटुको शल्यक्रिया गरिएको छ । नेपालमा मुटु रोगको उपचार हुने सरकारी अस्पताल गङ्गालालसरहको शल्यक्रिया शुल्क लिँदै आइएको अस्पतालले जनाएको छ । अस्पतालमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको एक लाखको छुटसमेत बिरामीले पाउने गरेका छन् ।
चितवनसहित देशैभरका बिरामीले अस्पतालबाट सेवा लिइरहेको उहाँले जानकारी दिनुभयो । डा. रेग्मीले आफूले गरेका शल्यक्रियामा ३० प्रतिशत ७५ वर्षमाथिका बृद्धबृद्धा रहेको बताउनुभयो ।
उनले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट समेत बिरामी आउने गरेको बताउनुभयो । राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति यहाँ रहेको जिकिर गर्दै उहाँले थप्नुभयो– “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ । अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथल्याब पनि छ ।”
हिँड्दा छाती दुख्ने, छाती भारी हुने, स्वाँ–स्वाँ हुनेजस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुनसक्ने भन्दै डा। रेग्मीले यस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउन सुझाव दिनुभयो।
मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले काठमाडौँसहित देशैभरबाट मुटुको उपचारका लागि बिरामी आउने गरेको बताउनुभयो । मुटुको शल्यक्रिया धेरै गर्ने चिकित्सक डा. रेग्मी परिचित भएकाले यसअघि उपचार पाएकाको सुझावकै कारण धेरै बिरामी आउने गरेको उहाँको भनाइ थियो ।
विगत दस वर्षमा मुटुको शल्यक्रियाको सङ्ख्या धेरै भएको र पछिल्लो तीन वर्षमा यो सङ्ख्या अत्याधिक बढेको थियो । प्रवन्ध निर्देशक न्यौपानेले भन्नुभयो, “विदेश जाने बिरामीलाई सोही स्तरको सेवा हामीले दिन सकेका छौँ ।” रासस
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
