
जनस्वास्थ्य सरोकार, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।
प्रदेश सरकारको लागतमा स्थापना गरिएको उक्त केन्द्रबाट अस्पतालका सबै शय्यामा अक्सिजन पाइप जडान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो ।
पाइपबाट शय्यासम्ममै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, सघन उपचार कक्षमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको उहाँको भनाइ थियो ।
उक्त केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न जिल्ला बाहिर नेपालगञ्ज वा सुर्खेत पठाउनुपर्ने बाध्यता अन्त हुनाका साथै समय र खर्चको बचत भएको छ । अक्सिजन प्लान्टले एक दिनमा १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्नसक्छ । एकपटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।
आइपुग्यो एम्बुलेन्स
भारत सरकारले एक वर्ष अगाडि सहयोग गरेको एम्बुलेन्स जिल्ला अस्पताल हुम्लामा पुगेको छ । उक्त एम्बुलेन्स भारत सरकारले जिल्ला अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सदरमुकाममा रहेको जिल्ला अस्पतालमा सो एम्बुलेन्स ल्याइएको थियो ।
एम्बुलेन्स आइपुगेपछि स्थानीयवासी खुसी भएका छन् । अब सेवाग्राहीले पैदल तथा डोको पिठ्युँ, स्टेचरमा बोकेर उपचारका लागि अस्पतालसम्म पु–याउनुपर्ने दिन हटेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीले बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्वजिल्लासभापति जयपति रोकायाले काठमाडौँबाट सिमकोटसम्म एम्बुलेन्स ल्याउन पहल गरेका थिए । एम्बुलेन्स जिल्ला अस्पतालसम्म आइपुग्न सात लाख ढुवानी खर्च लागेको थियो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
