
जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक लाभान्वित हुने जनाइएको छ ।
काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि मेथिनकोट अस्पतालले सुरु गरिएको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले अस्पताल अवलोकनका क्रममा बताउनुभयो । उहाँका अनुसार अब काठमाडौँका सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सेवा मेथिनकोट अस्पतालले दिने छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालका रूपमा विकसित गर्ने योजना बनाएको बताउनुभयो । “यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, उहाँले भन्नुभयो । तीन तहका सरकारको समन्वयका कारण अस्पतालमा सेवा विस्तार गर्दै लगिएको मेथिनकोटका नगरप्रमुख कुन्साङ लामाले बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी देखिएको लामाको भनाइ छ ।
अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको थियो । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ । अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्क उपलब्ध गराइएको छ ।
यसैबीच बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार तीन सय ८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान थालिएको छ । वडा नं ६ स्थित भक्तेश्वर माध्यमिक विद्यालयबाट आँखा परीक्षणको औपचारिक सुरुआत गरिएको हो । अस्पतालले केही समयअघि शिक्षकलाई आँखासम्बन्धी तालिम दिँदा विद्यार्थीले अध्ययन गर्न नसक्नुमा आँखाको भिजन प्रमुख कारण भएको जानकारी भएपछि अभियान नै थालिएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए ।
उहाँका अनुसार प्रारम्भिक सूचनाका आधारमा आँखाको भिजन १० देखि १५ प्रतिशत विद्यार्थीमा कम भएको पाइएपछि नगरभित्रका सबै विद्यार्थीको एकैपटक आँखा परीक्षण गरी देखिएको समस्याको उपचार गराइने छ । “स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व हो, आँखालगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान सुरु गरेका हौँ”, शाक्यले भन्नुभयो ।
नगरका बालबालिका, महिला र ज्येष्ठ नागरिकका अलावा नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभूत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधासम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले बताउनुभयो ।
अस्पतालका अध्यक्ष मधु आचार्यले नगरसँगको समन्वयमा बनेपा नगरभित्रका सबै बालबालिकाको आँखा परीक्षण गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँका अनुसार अभियानअन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइएको छ भने बालबालिकामा थप सङ्क्रमण वा समस्या देखिएमा अस्पताल पुर्याई निःशुल्क सेवा उपलब्ध गराइने छ । रासस
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

