
जनस्वास्थ्य सरोकार, चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताउनुभएको छ । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अस्पतालहरूको बेथिति सुधार गर्ने कुरामा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–“अस्पतालको सुधारका लागि कसैसँग पनि झुक्दिनँ र कसैको कुरा मान्दिनँ । राम्रो काम गर्नुपर्छ ।” जनताको सेवाका लागि खोलिएका अस्पताल बेथितिबाट चल्न नहुने उहाँको भनाइ थियो । अस्पतालमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उहाँले जनताको सेवाका लागि दरबन्दी थप गरिने बताउनुभयो ।
अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा चार जना चिकित्सक र चार जना नर्सले हेर्नुपर्ने बिरामी एक जनाले हेर्नुपर्ने बाध्यता रहेको जनाउँदै उहाँले सरकारले अस्पतालमा दरबन्दी थप गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “२२ वर्षअघि ३३ हजार कर्मचारी रहेकामा अहिले ३१ हजार छन् । यसले अस्पताल सञ्चालन र व्यवस्थापनमा समस्या हुन्छ । हामी दरबन्दी थप गर्ने तयारीमा छौँ ।”
दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको बताउँदै उहाँले थप्नुभयो– “अहिले आवश्यकताको एक चौथाइ कर्मचारीमात्रै छन् । यसलाई थप गर्दै जान्छौँ ।” अस्पतालहरूमा आवश्यक उपकरण र भौतिक संरचनाका लागि बजेट अभाव भएमा दातृ निकायको सम्मेलन गराएर भए पनि काम गर्ने उहाँको भनाइ थियो ।
आफू अहिले निःशुल्क स्वास्थ्योपचारको अभियानमा रहेको बताउँदै उहाँले पैसाको अभावमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न आफू सकारात्मक रहेको बताउनुभयो । शिक्षण अस्पतालको रूपमा विकास गर्दैगर्दा भौतिक संरचना निर्माण हुन जरुरी रहेकाले यसतर्फ आफूहरू स्रोत जुटाउन लागिपरेको उहाँको भनाइ थियो ।
पत्रकारसँगको कुराकानीमा उहाँले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताउँदै उहाँले यही अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताउनुभयो । रासस

स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२
'म पनि सन्जिव तिवारी' अभियानमा चिकित्सकको साथः अवहेलनाको मुद्दामाथि चिकित्सा क्षेत्रको चासो
शुक्रबार, असार २०, २०८२
यो वर्ष ६० हजारभन्दा बढीलाई डेंगु संक्रमण हुन सक्ने उच्च जोखिम
शुक्रबार, असार २०, २०८२
नेपाल चिकित्सक संघका महासचिवलाई उच्च अदालतको कारण देखाउ आदेश
बिहीबार, असार १९, २०८२