
जनस्वास्थ्य सरोकार, कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो ।
विसं २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइएको अस्पतालले जनाएको छ । किशोरीलाई पाठेघरको क्यान्सर लाग्न नदिनका लागि सरकारले सात प्रदेशका सात अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज र भोलि दुई दिन खोप कार्यक्रम सञ्चालन हुने अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ एवं एफएआई कमिटीका अध्यक्ष डा. रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सुरु गरिएको कार्यक्रममा गण्डकी प्रदेशका नौ सय किशोरीलाई खोप लगाइने छ ।
“अन्य खोप जस्तै यस ‘एचपिभी’ खोप पनि सामान्य र सुरक्षित छ । किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि खोप अत्यन्त प्रभावकारी छ”, डा. बास्तोलाले भन्नुभयो, “विदेशमा यो खोप पहिलदेखि नै वितरण गरिए पनि नेपालमा अहिलेदेखि सुरुआत गरिएको हो । अबदेखि नियमित सञ्चालन हुन्छ ।”
खोपको अपर्याप्तताका कारण अहिले थोरै मात्रामा मात्र लगाइने अस्पतालले जनाएको छ । सरकारले गण्डकी प्रदेशमा नौ सय ३० मात्रा खोप पठाएको छ । खोप लगाउने क्रममा केही बिग्रन सक्ने भएकाले थोरै मात्रा जगेडामा राखिएको अस्पतालले जनाएको छ ।
बाल रोग विशेषज्ञ डा. बास्तोलाले अस्पतालमा खोप कार्यक्रमका क्रममा कुनै समस्या आएमा त्यसको व्यवस्थापनका लागिसमेत तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार खोपका बारेमा जानकारी दिनका लागि एकजना परामर्शदाताको व्यवस्था गरिएको छ ।
खोप लगाएपछि ३० मिनेटसम्म शान्त ठाउँमा राख्ने गरिएको डा बास्तोलाले बताउनुभयो । “खोपपछिको समस्या आएमा व्यवस्थापनका लागि तयारीमा छौँ । खोप सुरक्षित छ, क्यान्सरजस्तो खतरनाक रोगबाट जोगिनका लागि खोप लगाउन सबैले किशोरीलाई हौसला दिनुपर्छ”, उहाँले भन्नुभयो –डा. बास्तोलाका अनुसार अस्पतालमा तोकिएको उमेर समूहका किशोरीलाई जन्मदर्ता प्रमाणपत्रका आधारमा खोप दिइएको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
