
जनस्वास्थ्य सरोकार, कास्की । पोखरा महानगरपालिकाका २ वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन्।
पोखरा महानगरपालिका–१६ र १९ ले वडाबासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन्।
महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सेवा प्रदान गर्ने सम्बन्धमा समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र मितेरी अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालसँग एम्बुलेन्स सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर गर्नुभएको छ ।
स्थानीयबासीका लागि प्रयोग गरिएको एम्बुलेन्सको भाडामा वडा कार्यालयबाट भुक्तानी हुने गरी सहमति गरिएको छ। दुवै वडाका नागरिकले यी दुई संस्थाबाट सञ्चालित एम्बुलेन्स तथा शवबाहनबाट कास्की जिल्लाभित्र प्रयोग हुने गरी चौबीसै घण्टा सेवा लिन सक्ने वडा नम्बर १६ का वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार एम्बुलेन्स प्रयोगकर्ताले परिचयका लागि आफ्नो परिचय खुल्ने कुनै पनि प्रकारको परिचयपत्र उपलब्ध गराउनु पर्नेछ। ‘नागरिकको सहजताका लागि दुवै वडाको पहलमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हौँ। यसबाट विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई अझ बढी सहयोग पुग्ने विश्वास लिएका छौँ,’ वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो। पोखरा यी दुई वडा बजारको उत्तरी क्षेत्रमा तथा विशेषगरी ग्रामीण भूगोलमा पर्दछन्।
नव आदर्श समाजको फोन नम्बर ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने जनाइएको छ। यसअघि पनि १६ नम्बर वडा कार्यालयले वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिनेका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथमा आमा पोषणका लागि १ हजार बराबरको सहयोग प्रदान गर्दै आइरहेको छ। सो कार्यक्रम यस वर्ष पनि निरन्तर रहेको बताइन्छ। रासस
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
