
जनस्वास्थ्य सरोकार, चितवन । चितवनका तीन वटा सरकारी अस्पतालमा उपचार गर्ने बिरामीले रगत निःशुल्क रुपमा पाउने भएका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आइतबार यस सम्बन्धी सम्झौता गरेको हो ।
भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा उपचार गर्ने बिरामीले रगत निःशुल्क रुपमा पाउने छन् ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री उत्तम जोशी र नेपाल रेडक्रस सोसाइटी चितवनका महामन्त्री राममणि खनालबीच यस सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार बागमती प्रदेशबासीले यी अस्पतालमा उपचार गर्दा रगत आवश्यक परेमा निःशुल्क रुपमा पाउने छन् । उक्त रगतको शुल्क बापतको रकम बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रक्तसञ्चार केन्द्रलाई भुक्तानी दिने व्यवस्था गरिएको छ ।
मन्त्रालयले यस अघि नै काठमाण्डौं लगायत प्रदेशका अन्य अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउन सम्झौता गरिसकेको छ । सम्झौता भएका अस्पतालहरूमा बागमती प्रदेश अन्तर्गतका बकुलहर रत्ननगर अस्पताल सहित १३ वटा अस्पताल रहेका छन् । यसैगरी पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल काभ्रे, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि बागमती प्रदेशवासीले निःशुल्क रगत पाउने छन् ।
प्रदेशभित्रका स्थायी बसोबास गर्ने विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि आवश्यकता पर्ने रगत, ब्लड ब्याग र रक्त परीक्षण निःशुल्क रुपमा उपलब्ध गराउनका लागि सम्बन्धित निकायहरूसँग सम्झौता गरिएको हो ।
मन्त्रालयले गत आर्थिक वर्ष २०७९/०८० मा ४३ लाख ४५ हजार ९२३ रुपैयाँ बराबरको रगत निःशुल्क उपलब्ध गराएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
