
जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ । नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा उपलब्ध जनशक्तिलाई तालिमको तयारी भएको र लगत्तै सेवा सञ्चालनमा गइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताउनुभयो । उक्त सेवा सुरु हुँदा विपी राजमार्गमा हुनसक्ने दुर्घटनाका बिरामी तथा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुली र पूर्वी तराईका केही जिल्लाका नागरिकका लागि निकै सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
यस्तै अस्पतालमा हालै शल्यक्रिया सेवा पनि सुरु गरिएको छ भने गत असोज पहिलो सातादेखि अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । यस्तै सघन कक्ष (आइसीयू) र नवजात शिशुको सघन कक्ष (एनआइसीयू) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ ।
हाल पाँच अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर यस क्षेत्रका बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दाहालका अनुसार उक्त अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालको रूपमा विकसित गर्ने योजना बनाइएको छ । “यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, डा दाहालले भन्नुभयो ।
नगरप्रमुख कुन्साङ लामा तीन तहका सरकारको समन्वयका कारण मेथिनकोट अस्पतालमा सेवा विस्तार गर्दै लगिएको बताउनुहुन्छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी देखिएको उहाँको भनाइ छ ।
यस्तै अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको छ । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ ।
अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्करूपमा उपलब्ध गराइएको अस्पताल प्रशासनले जनाएको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
