
जनस्वास्थ्य सरोकार, वीरगञ्ज । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता आएको मौसमी परिवर्तनले अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।
मौसममा आएको परिवर्तनका कारण रुघाखोकी, ज्वरो, निमोनियालगायत बिरामी दैनिक करिब २० देखि २५ जनासम्म उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । यस्तै पछिल्लो केही दिनयता दैनिक चार/पाँच जनासम्म डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउने गरेको प्रवक्ता डा सिंहको भनाइ थियो ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले श्ययाको अभाव भएको र भूइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यसैबीच बढ्दो डेङ्गु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ ।
पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । अभियानका क्रममा महानगरपालिकाले डेङ्गु सङ्क्रमणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगञ्ज भित्रिने यात्रुबाहक बसदेखि अन्य सवारी सवारीसाधनमा स्प्रे गर्न थालिएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा गत भदौ २६ गतेदेखि सुरु भएको अभियानकै क्रममा लामखुट्टे र लार्भा नष्ट गर्न र सवारीसाधन तथा पानी जमेको स्थानमा स्प्रे गर्न थालिएको छ ।
प्रमुख मियाँका अनुसार सो अभियानका लागि महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाई शाखा र नगर प्रहरीको टोलीलाई स्प्रे गर्न परिचालन गरिएको छ । मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा पनि किटनाशक औषधि स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उहाँले बताउनुभयो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
