
जनस्वास्थ्य सरोकार, कञ्चनपुर । सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका ५१ जनालाई पोषणयुक्त घ्यू र अण्डा वितरण गरिएको छ । सुत्केरी भएकालाई जनही रु एक हजार पाँच सय बराबरको घ्यू र अण्डा वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख हीरासिंह ढुङ्गालले जानकारी दिनुभयो । उहाँका अनुसार पोषणयुक्त आहार पाउनका लागि स्वास्थ्य चौकीमा नियमित गर्भचेक जाँच गराएको र सुरक्षितरुपमा सुत्केरी हुनका लागि स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट सेवा लिएको हुनुपर्ने छ ।
“सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार ल्याउन पोषणयुक्त आहार वितरण गर्दै आएका छौँ”, प्रमुख ढुङ्गालले भन्नुभयो– “स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी भएकालाई तीन वर्षदेखि निरन्तररुपमा पोषणयुक्त आहार वितरणको कार्य हुँदै आएको छ ।”
बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पोषणयुक्त आहारको प्रयोग गर्नुपर्दछ भन्ने जानकारी दिइने गरिएकाले नगरपालिकामा कुपोषित बालबालिकाको सङ्ख्या घट्दै गएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । स्वास्थ्य चौकीले वितरण गर्दै आएको पोषणयुक्त आहारले आर्थिकरुपमा विपन्न परिवारका सुत्केरीको पोषणमा सुधार ल्याउन सघाउ पु¥याएको उहाँको भनाइ छ ।
तीन वर्षको अवधिमा स्वास्थ्य चौकीबाट एक सय ६० सुत्केरीलाई पोषणयुक्त आहार वितरण गरिएको छ । गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार खानका लागि प्रेरित गर्ने गरिएको छ ।
सुत्केरीलाई घ्यू, अण्डासँगै दुसा उमारेको गेँडागुडी, च्याउ, दुग्धजन्य पदार्थ, माछा मासु, हरियो सागपात, फलफूल, मसलाको प्रयोग गर्नका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर सल्लाह सुझाव दिँदै आएका छन् ।
साँझ बिहानको खानाको जोहो मिलाउन नसक्ने विपन्न समुदायका सुत्केरीले पौष्टिक आहारको व्यवस्था गर्न नसक्ने अवस्था हुने भएकाले स्वास्थ्य चौकीबाटै पौष्टिक आहारका रुपमा घ्यू र अण्डा उपलब्ध गराउने व्यवस्था गरिएको नगर उपप्रमुख कल्पना पन्तले बताउनुभयो । यसले सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार भई कुपोषणको समस्या हटेर जाने विश्वास छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
