
मस्तिष्क भित्रको संवेदनशील भागमा हुने भएकाले ब्रेन ट्युमरलाई घातक मानिन्छ । ब्रेन ट्युमरको ठोस कारण चिकित्सा विज्ञानले पत्ता लगाउन सकेको त छैन । तर केही अध्ययनहरूले जीनको डिफेक्टबाट हुनसक्ने देखाएका छन् ।
ब्रेन ट्युमर बालक, वयस्क र वृद्ध जुनसुकै उमेर समुहलाई हुनसक्छ । बढ्दो उमेरसँगै ट्युमरको जोखिम पनि बढ्दै जान्छ । साधारणतया ८० वर्ष माथिका उमेर समूहमा ब्रेन ट्युमर हुने जोखिम उच्च हुन्छ ।
कसलाई हुन्छ ?
प्रायः वंशाणुगत, लामो समयअघि चोट लागेको र लामो समयसम्म रेडियसनको सम्पर्कमा रहने व्यक्तिलाई बे्रन ट्युमर हुने गरेको पाइन्छ ।
लक्षण
अत्यधिक टाउको दुख्ने, वाकवाकी लाग्ने, छारे रोग, बेलाबेलामा होस हराउने, एकापट्टी कान कम सुन्ने, दृष्टि कमजोर हुने, हिँडाइको सन्तुलन बिग्रने, बोली लरबरिने आदि ब्रेन ट्युमरका प्रमुख लक्षण हुन् ।
उपचार
करिब ९५ प्रतिशत टाउको दुखाइ आफैँ निको भएर जान्छ । करिब ५ प्रतिशतमा मस्तिष्कको समस्या वा ब्रेन ट्युमर हुनसक्छ । यस्तो अवस्थामा बारम्बार टाउको दुख्ने, दुखाइ बढ्दै जाने र दुखाइ कम गर्ने औषधिलेसमेत काम गर्दैन । यस्तो अवस्थामा शल्यक्रिया गरेर ब्रेन ट्युमर निकाल्नुपर्छ । वीर अस्पतालमा दैनिक ३–४ जनाको ब्रेन ट्युमरको शल्यक्रिया हुने गर्छ ।

ट्युमरको आकार एक सेन्टिमिटर भन्दा कम भएमा उत्कृष्ट रिजल्ट आउँछ । बिरामी आफ्नो दैनिकीमा फर्कन सक्छन् । तर ट्युमरको आकार क्रमशः ३ देखि ६ सेन्टिमिटरभन्दा बढी भएमा रिजल्ट राम्रो नआउन पनि सक्छ । साधारणतया पहिलो र दोस्रो ग्रेडको ट्युमर डायग्नोसिस भएका ९५ प्रतिशत बिरामीको शल्यक्रियापछि सामान्य अवस्थामा फर्काउन सकिन्छ । तेस्रो र चौथो ग्रेडका ट्युमर भएका बिरामीमा बेलाबेलामा स्वास्थ्य समस्या देखिनसक्छ । आफ्नो दैनिकीमा फर्कन उनीहरूलाई केही समय लाग्नसक्छ ।
आयु
ब्रेन ट्युमरलाई ४ ग्रेडमा वर्गिकरण गरिएको छ । पहिलो र दोस्रो ग्रेडको ट्यूमरलाई सजिलै शल्यक्रिया गरेर निकाल्ने गरिन्छ । तेस्रो र चौथो ग्रेडका ट्युमर अलि जटिल किसिमका हुन्छन् । यसलाई शल्यक्रिया गरेर निकालेपनि पुनः पलाउनसक्ने सम्भावना हुन्छ । साथै रेडियोथेरापी र केमोथेरापी उपचारको आवश्यकता पर्छ । चौथो ग्रेडको ट्युमरलाई ग्लीओब्लास्टोमा (जीबीएम) पनि भनिन्छ । जिबिएम ट्युमर भएका ९९ प्रतिशत बिरामीको औसत आयु करिब १३ देखि १५ महिनाको मात्र हुन्छ । तर कतिपय बिरामी भने ८–१० वर्ष समेत बाँचेका उदाहरण छन् ।
चिकित्सकीय फलोअप
साधारणतया ग्रेड वान र टु मा ६ महिनादेखि १ वर्ष र थ्री र फोर ग्रेडको ट्युमर भएका व्यक्तिले ३ देखि ६ महिनाको अन्तरालमा फलोअपमा आउनुपर्दछ । ब्रेन ट्युमर भएका बिरामीलाई नियमित फिजियोथेरापी र पुनःस्थापनाको आवश्यकता पर्दछ । बिरामी भर्ना भएर फिजियोथेरापी सेवा लिन मिल्ने छुट्टै सेन्टर हुन जरूरी पर्छ ।
खानपान र जीवनशैली
बिरामीले सन्तुलित आहार सेवन गर्नुपर्छ । खानामा मासु, अण्डा, तरकारी र फलफूल सेवन गर्न सकिन्छ । बढी चिल्लो पिरो भएको खाना खान हुँदैन । धुम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ ।
( लेखक वीर अस्पतालको न्युरो सर्जरी विभागमा प्रमुख हुनुहुन्छ ।)
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२

