नेभिगेशन

सेरेब्रल पल्सीः चाँडै उपचार पाएमा सामान्य जीवनमा फर्काउन मद्धत

डा. असीम श्रेष्ठ-पेडियार्टिक न्युरोलोजिष्ट


सेरेब्रल पल्सी बालबालिकामा देखिने मस्तिष्कको पक्षघात हो । यो ग्रोइङ ब्रेनमा केही इन्सल्ट (चोट वा आघात) पुगेमा हुनसक्छ । विशेषगरी मस्तिष्कको हातखुट्टा चलाउने भाग (मोटर एरिया) मा कुनै कारणले रक्तसञ्चार अवरूद्ध हुँदा यस प्रकारको समस्या बढी हुन्छ । यो दीर्घकालीन हुन्छ । यो बढ्दै जाने रोग होइन । तर क्रमशःसुधार हुँदै जान्छ । बच्चा सुस्त हुने मुख्य कारण सेरेब्रल पल्सी हो ।

गर्भवती महिलामा प्रेसर, सुगर वा केही इन्फेक्सन भएमा गर्भमा रहेको शिशुको ब्रेनमा जाने रक्तनली अवरूद्ध हुँदा मस्तिष्कमा अक्सिजनको मात्रा पुग्दैन । प्रसुतीका समयमा घरमा हुने लामो बेथाले मस्तिष्कमा असर पुगेमा सेरेब्रल पल्सी हुनसक्छ । अपरिपक्व अवस्थामा जन्मिएको शिशुमा पनि सेरेब्रल पल्सी हुने सम्भावना बढी हुन्छ । जन्मपश्चात् जन्डिस वा अन्य कडा रोगले मस्तिष्कमा असर पुगेमा पनि सेरेब्रल पल्सी हुने सम्भावना रहन्छ ।


कसरी थाहा पाउने ?

जन्मनासाथ शिशु नरोएमा गर्भमै छँदा मस्तिष्कमा इन्सल्ट भयो कि भनेर सोचिहाल्नुपर्छ । जन्मेपछि शिशुले शारीरिक विकासका क्रममा सामान्यतया ३–४ महिनामा टाउको धान्नुपर्छ र कोल्टे फेर्नुपर्छ । ६–७ महिनामा टुक्रुक्क बस्न सक्नुपछ । यस्तो नभए सेरेब्रल पल्सी हुनसक्छ । तर अभिभावकहरू बच्चा हिँड्नुपर्ने बेला हिड्न नसकेपछि मात्र अस्पताल लिएर आउँछन् । बच्चा बोल्न सकेन भने पनि सेरेब्रल पल्सीकै कारण हुनसक्छ ।


सेरेब्रल पल्सीका प्रकार

सेरेब्रल पल्सी धेरै प्रकारका हुन्छन् । स्पाष्टिक, डिस्काइनेटिक र कोरियोएस्थेटोइड धेरैलाई देखिने गरेको छ । त्यसमा पनि स्पाष्टिक सबैभन्दा बढी मात्रामा देखिन्छ । जिउ एकदमै टाइट हुने समस्या स्पाटिक सेलेब्रल पल्सी हो । यो करिब ७० देखि ८० प्रतिशत हुने गर्छ । कहिलेकाहीँ एक्सटेन्ड गर्ने भागको नसा खराब भएमा जिउ टाइट मात्र हुन्छ । यसैलाई स्पास्टिक भनिन्छ । ब्रेनका जुन भागमा असर भएको हो सोही अनुसार लक्षण देखिन्छ । जस्तोः खुट्टाको भागमा भएमा स्पाष्टिक डाइप्लेजिया, शरीरको एकापट्टी भागमा भएमा स्पास्टिक हेमिप्लेजिया, तीनओटा हातखुट्टा चलाउन समस्या भएमा स्पाष्टिक ट्राइप्लेजिया र चार वटै हातखुट्टा चलाउन समस्या भएमा स्पाष्टिक क्वाड्रिप्लेजिया भएको हुनसक्छ । यसैगरी शिशु जन्मिदा उच्च जन्डिस भएमा कोरियोएस्थेटोइड सेरेब्रल पाल्सी गराउनसक्छ । यसले हातखुट्टालाई नियन्त्रणमा समस्या हुनसक्छ ।


सेरेब्रल पल्सीले पार्ने असर

सेरेब्रल पल्सी मस्तिष्कमा रहने पुरानो दाग हो । यो बढ्दैन । तर विकासमा भने असर पार्छ । मस्तिष्कका मरिसकेको नसाको विकास हुँदैन । यसले शरीरको अन्य अंगमा असर गर्दैन । तर समयमा हिड्न, बोल्न, कुरा बुझ्न र पढ्न गाह«ो हुनसक्छ । छारे रोगको झड्का आउनसक्छ । कसैकसैमा हाइपर एक्टिभ हुने, चञ्चल हुने, एकोहोरो हुने, कसैकसैमा कान नसुन्ने जस्ता एसोसिएट कन्डिसन हुनसक्छ । सेरेब्रल पल्सी भएका बच्चा सुस्त मनस्थितिका हुनसक्छन् ।

सेरेब्रल पल्सीको धेरै असर भएमा अल्पकालमा ज्यान पनि जान सक्छ । कतिपय बच्चाको खानेकुरा निल्न सक्ने तागत हुँदैन भने खानेकुरा पनि सर्किनसक्छ । जसले गर्दा बच्चालाई पोषक तत्व पुग्दैन र बारम्बार संक्रमण भएर बिरामी भइरहसक्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएमा बच्चाको ज्यान जान सक्छ ।


चाँडो उपचारले सुधार सम्भव
मस्तिष्कको नसा एकपटक इन्सल्ट भएपछि फर्काउन सकिँदैन । तर त्यस्तै प्रकारले अन्य नयाँ नसाले काम गर्नसक्ने हुनसक्छ । यो पहिरोले बाटो ब्लक हुँदा नयाँ बाटो खोजेजस्तै हो । यसको मुख्य उपचार पद्धति नै थेरापी हो । सेरेब्रल पल्सीका बिरामीलाई न्युरो प्लास्टिसिटी थेरापी गर्न सकिन्छ । जतिसक्दो छिटो थेरापी सुरू ग¥यो त्यति नै छिटो सुधार हुन्छ । मस्तिष्कलाई नयाँ नसा खोज्न मद्दत पुग्छ । धेरै कडा भएको मांशपेशीमा बोटक्स थेरापी पनि गर्न सकिन्छ । तर नेपालमा त्यति प्रयोगमा आएको छैन ।

थेरापी सँगसँगै मांशपेशीको कडापन कम गर्न औषधि र बुद्धि विकास गर्न ब्रेनको भिटामिन सेवन गर्न सकिन्छ । कडा मांशपेशीले हड्डीलाई तानेर बाङ्गो बनाउने भएकाले कहिलेकाहीँ हड्डीको शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ ।

यस्ता बालबालिकालाई सरकारले उपचार सुविधासहित पुनःस्थापना केन्द्रको व्यवस्था गरेमा निकै सहजीकरण हुने देखिन्छ ।
(लेखक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट