
जनस्वास्थ्य सरोकार, चितवन । हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् ।
माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आउनुभएको छ । आमाको निधनपछि उहाँका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो । आफू ११ वर्षको हुँदा एचआइभी सङ्क्रमण पुष्टि भएको उहाँ बताउनुहुन्छ । सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छोडेकी सुनार अहिले आफ्नै खुट्टामा उभिन सीपमूलक तालिममा लागेकी छिन् ।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनको सक्रियतामा सुनारले सिलाइकटाइको तालिमसमेत लिनुभएको छ । सुरुआतमा गाउँमा नै हुँदा दिदीकोमा गएर सिलाइकटाइको काम सामान्यरुपमा गर्ने गरेको भए पनि अहिले त्यही पेसालाई अपनाउन खोजेको उहाँले बताउनुभयो। सुनारले भन्नुभयो –“सङ्क्रमित भनेर हेला गर्छन् । त्यसैले केही गरेर देखाउने इच्छा छ ।”
फाउण्डेसनको सहयोगमा तीन महिने तालिम केही दिन अघि मात्रै सम्पन्न गरेकी सुनार अब दिदीकै घरमा आफ्नै व्यवसाय गरेर बस्ने योजनामा हुुनुहुन्छ । उहाँको स्वरोजगरका लागि संस्थाले कपडा सिलाउने मेसिनको व्यवस्था गर्दैछ । समाज परिवर्तन गर्दै अघि बढ्नुपर्ने समय आएको उहाँले सुनाउनुभयो ।
फाउण्डेसनको सहयोगमा १२ वर्षदेखि २० वर्ष उमेरका सङ्क्रमित ३० किशोरकिशोरीले सीपमूलक तालिम लिएका छन् । फाउण्डेसनमा हाल नियमित औषधि सेवन गर्ने सङ्क्रमित एक हजार एक सय ५८ रहेका छन् । उनीहरुमध्ये ३८ बालबालिका रहेका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । रासस
नर्स र स्वास्थ्यकर्मीको आन्दोलन स्थगितः पारिश्रमिक र सेवा सुविधा कार्यान्वयनमा सहमति
शुक्रबार, कात्तिक २१, २०८२
सन् २००७ पछि जन्मिएका सबैका लागि सुर्ती ‘नो एण्ट्री’
शनिबार, कात्तिक १५, २०८२
ग्रान्डी अस्पतालका नर्सहरुलाई न्यायोचित पारिश्रमिक दिने निर्णय— आन्दोलन पक्ष र प्रशासनबीच सहमति
मंगलबार, कात्तिक ११, २०८२
देशभरका नर्स आजदेखि कालोपट्टी बाँधेर काममा खटिँदै
मंगलबार, कात्तिक ४, २०८२
