
जनस्वास्थ्य सरोकार, चितवन । हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् ।
माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आउनुभएको छ । आमाको निधनपछि उहाँका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो । आफू ११ वर्षको हुँदा एचआइभी सङ्क्रमण पुष्टि भएको उहाँ बताउनुहुन्छ । सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छोडेकी सुनार अहिले आफ्नै खुट्टामा उभिन सीपमूलक तालिममा लागेकी छिन् ।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनको सक्रियतामा सुनारले सिलाइकटाइको तालिमसमेत लिनुभएको छ । सुरुआतमा गाउँमा नै हुँदा दिदीकोमा गएर सिलाइकटाइको काम सामान्यरुपमा गर्ने गरेको भए पनि अहिले त्यही पेसालाई अपनाउन खोजेको उहाँले बताउनुभयो। सुनारले भन्नुभयो –“सङ्क्रमित भनेर हेला गर्छन् । त्यसैले केही गरेर देखाउने इच्छा छ ।”
फाउण्डेसनको सहयोगमा तीन महिने तालिम केही दिन अघि मात्रै सम्पन्न गरेकी सुनार अब दिदीकै घरमा आफ्नै व्यवसाय गरेर बस्ने योजनामा हुुनुहुन्छ । उहाँको स्वरोजगरका लागि संस्थाले कपडा सिलाउने मेसिनको व्यवस्था गर्दैछ । समाज परिवर्तन गर्दै अघि बढ्नुपर्ने समय आएको उहाँले सुनाउनुभयो ।
फाउण्डेसनको सहयोगमा १२ वर्षदेखि २० वर्ष उमेरका सङ्क्रमित ३० किशोरकिशोरीले सीपमूलक तालिम लिएका छन् । फाउण्डेसनमा हाल नियमित औषधि सेवन गर्ने सङ्क्रमित एक हजार एक सय ५८ रहेका छन् । उनीहरुमध्ये ३८ बालबालिका रहेका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

