
जनस्वास्थ्य सरोकार, काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोप्रति सचेत बन्नुपर्ने धारणा राख्नुभएको छ । स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको उहाँको भनाइ छ ।
मन्त्रालयले आज आयोजना गरेको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’का अवसरमा उहाँले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरुलाई सचेत रहन निर्देशन दिनुभयो ।
“अन्तर्राष्ट्रिय दातृ संस्थाबाट सवास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के हामीलाई प्रतिफल दिएको छ त ? ”, उहाँले भन्नुभयो “यस्ता कतिपय बजेट कहाँबाट आउँछ र कहाँ जान्छ ? बजेट उद्देश्यअनुसार खर्च भएको छ वा छैन त्यो पाटो पनि हेर्न जरुरी छ । त्यसैले सरकारले यी बजेटहरु रेडबुकमार्फत आउनुपर्छ ।”
मन्त्री बस्नेतले जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताउनुभयो । यस्तै, मन्त्री बस्नेतले जनशक्तिको दरबन्दी थप्ने प्रक्रियाको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।
“तथ्याङ्कअनुसार ३३ हजार जनशक्ति छन् तर व्यवहारमा त्यो पनि छैन । गुणस्तरीय सेवा दिन यति जनशक्तिबाट सम्भव छैन”, मन्त्री बस्नेतले भन्नुभयो “स्वास्थ्यमा नभई नहुने जनशक्ति दिन्छु भन्नेमा अर्थमन्त्रालय तयार भइसकेको छ । अब दक्ष जनशक्ति प्राप्तीका लागि लामो समय कुर्न पर्दैन ।”
चिकित्सा शिक्षाका विद्यार्थीमा निराशा बढेको भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गरेर चिकित्सक र प्यारामेडिक्स नर्सको अध्ययनका लागि सहजीकरण गर्नपर्नेमा समेत जोड दिनुभयो ।
यस्तै, यसवर्ष विश्व स्वास्थ्य दिवसका अवसरमा मन्त्रालयले स्वास्थ्य क्षेत्रका सबै व्यक्ति, संस्था र निकायको सहभागितामा राष्ट्रियस्तरको कार्यक्रम गर्ने पनि मन्त्री बस्नेतले जानकारी दिनुभयो । उहाँले मन्त्रालयको कामको समीक्षा, आगामी कार्यक्रमको उद्देश्य र समस्याका विषयमा छलफल गर्ने तयारी गरेको बताउनुभयो । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
