
जनस्वास्थ्य सरोकार, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन् ।
उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच स्थानीय सरकारको सिफारिसका आधारमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने सहमति भएको हो ।
निःशुल्क उपचार सेवा लिने व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएर वडाको सिफारिसको आधारमा उपमहानगरले निःशुल्क उपचार गर्नका लागि अस्पताललाई पत्र लेखी पठाउने नगरप्रमुख गोपाल हमालले बताउनुभयो ।
आकस्मिक सेवाका लागि आएका लक्षित वर्गलाई सिफारिस नभए पनि सम्बन्धित अस्पतालले प्राथमिक उपचार निःशुल्क प्रदान गर्ने छ भने थप उपचारका लागि सिफारिस माग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो।
प्रमुख हमालका अनुसार लक्षित वर्गलाई निःशुल्क सेवा दिनका लागि अस्पतालले कूल शय्यामध्ये १० प्रतिशतमा निःशुल्क शय्या भनी लेख्नु पर्नेछ । सिफारिस लिएर आएका बिरामीलाई अस्पतालले चिकित्सक परामर्श, नर्सिङ, अक्सिजन, रेडियोलोजी, प्याथोलोजीलगायत सेवा निःशुल्क दिनुपर्ने जनाइएको छ ।
बिरामीको उपचारमा लाग्ने सम्पूर्ण औषधिमा १० प्रतिशत छुट दिनुपर्ने हमालले बताउनुभयो । उहाँका अनुसार अस्पतालले मासिक रूपमा निःशुल्क उपचार गरेको प्रतिवेदन उपमहानगरमा पठाउने सम्झौता भएको छ । सम्झौता अनुसार उपमहानगरको सिफारिसका आधारमा धनगढीका सबै निजी अस्पतालमा यही मङ्सिर २५ गतेदेखि विपन्न, असहाय र बेवारिसे व्यक्तिको निःशुल्क उपचार गरिनेछ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
