नेभिगेशन

एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धी हाँसिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धी हाँसिल गरेको बताउनुभएको छ ।

३६ औं विश्व एड्स दिवसको अवसरमा शुक्रबार दिनुभएको सन्देशमा स्वास्थ्यमन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म १२ वर्षको अवधिमा नयाँ एचआईभी संक्रमण दर ७७ प्रतिशतले घट्नु र एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यो क्षेत्रका लागि ठूलो उपलब्धी भएको बताउनुभएको छ ।

नेपालबाट सन् २०३० सम्म एचआईभी उन्मुलन गर्ने लक्ष्य प्राप्त चुनौतिपूर्ण भएकाले एचआईभी उन्मुलनका लागि समुदायसँग हातेमालो गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।

यसै बिच शुक्रबार विभिन्न कार्यक्रमका साथ नेपालमा पनि ३६ औं विश्व एड्स दिवस मनाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले एचआईभी संक्रमण दर घटाउनले नेपालले सफलता हाँसिल गरेको भए पनि अन्त्य गर्न अझै चुनौति रहेको बताउनुभयो।

अहिले पनि समाजमा एचआईभी संक्रमित प्रति गरिने भेदभाव व्याप्त रहेकोले त्यसलाई कम गर्न समाजका सबै पक्षको सहकार्य हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले एचआईभी पनि अन्य रोग जस्तै औषधिको सेवनले निको हुने भएको बताउँदै यसको संक्रमितमाथि हुने भेदभाव अन्त्य गर्न जनचेतना बिस्तारमा जोड दिनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा. पापाले नेपालले एचआईभी संक्रमण दर घटाउनमा गरेको काम प्रशंसनीय भए पनि चुनौति बाँकी नै रहेको बताउनुभयो ।

कार्यक्रममा राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले नेपालमा सन् २०२२ को अन्त्यसम्म करिव ३० हजार एचआईभी संक्रमित रहेको जानकारी दिँदै अबको चुनौति सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो ।

यो वर्षको नारा नै ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ रहेको बताउँदै डा. ठाकुरले सबै पक्षको सहयोग र सहकार्यमा सन् २०३० सम्म एचआईभी अन्त्य गर्न सकिने दावी गर्नुभयो ।

कार्यक्रम स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रको अध्यक्षता भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट