
जनस्वास्थ्य सरोकार, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो ।
भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितलाई दुईरतीन दिनयता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । “गाउँका धेरैलाई पखालाले थला पारेको छ । बालबालिका र वृद्धावृद्ध बढी जोखिममा छन्”, उहाँले भन्नुभयो, “उपचारका लागि खबर गर्दा अहिलेसम्म कोही पनि आएका छैनन् । घर घरमै बिरामी छन् ।”
घुयलनेटाका साथै डौरीकाँडा, भुनलगायत गाउँमा पनि पखालाका बिरामी देखा परेका छन् । एक सय बढी घरधुरी रहेका ती गाउँमा चिसोले गर्दा पखाला, टाउको दुख्ने, बान्ता आउनेलगायतका समस्या देखिन थालेको स्थानीयले बताएका छन् ।
स्थानीय धर्मशिला विकले आफू दुई दिनदेखि पखालाले थला परेको बताउनुभयो । पटकपटक पातलो दिसा लाग्ने, टाउको दुख्ने, वान्ता हुने, मुटु दुख्ने, चक्कर लाग्नुका साथै श्वासप्रश्वासमा पनि समस्या हुन थालेको उनको भनाइ थियो ।
“छ वर्षको छोरालाई पनि पखाला लागेको छ । गाउँमा बिरामी नहुने कोही पनि छैनन् । रुघाखोकी त यो चिसोमा सबैका लागि सामान्य नै भइसकेको छ”, विकले भन्नुभयो, “नजिक स्वास्थ्य संस्था पनि छैनन् । निकै गाह्रो भइरहेको छ ।”
गाउँमा धेरै बिरामी भएको खबर सुनेपछि वडा नं १ को पिपेमा रहेको स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखामा खबर गरे पनि उपचारका लागि गाउँमा कोही नआएको वडा सदस्य नैनबहादुरले बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा प्रतिक्षा भारतीले दिउँसो २ बजेपछि घुयलनेटा गाउँमा झाडापखाला तथा वान्ताले धेरैलाई बिरामी पारेको खबर आएको बताउनुभयो। “अलि विकट ठाउँ भएको र अबेला खबर पाएकाले बुधबार जान सकिएन”, उहाँले भन्नुभयो ।
आज औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रभावित क्षेत्रतर्फ जाने भारतीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “बिरामी भएको सुनेको छौँ । चिसो र खानपान नमिल्दा ‘कोल्ड डायरिया’ (चिसोका कारण हुने झाडापखाला) को समस्या भएको हुन सक्छ । त्यहाँ पुगेपछि मात्र कति बिरामी रहेछन् र के भएको रहेछ जानकारी हुन्छ ।”
जिल्लाका विभिन्न ठाउँमा पखाला, निमोनिया र स्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढ्दै गएका छन् । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
