
जनस्वास्थ्य सरोकार, काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ ।
पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो । पनौती–७ ढोकाफल पाटीमा आयोजित कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी र वडाध्यक्ष सविनकुमार ताम्राकारले ज्येष्ठ नागरिकलाई बिरामी पुर्जा दिएर कार्यक्रमको सुरुआत गरिएको थियो ।
कार्यक्रममा भण्डारीले ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरूको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी रहने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्करूपमा गरिने भएकाले प्रत्येक ज्येष्ठ नागरिकले परिवारको सहयोगमा स्वास्थ्य बीमासमेत गर्न अनुरोध गर्नुभयो ।
‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण घरघरमा तथा टोलटोलमा’ भन्ने नीति तथा कार्यक्रमअन्तर्गत प्रारम्भ भएको यस कार्यक्रमअन्तर्गत मङ्गलबार पनौती स्वास्थ्य चौकीले ६२ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै ल्याब परीक्षण गरेको छ । यस्तै बल्थली स्वास्थ्य चौकीले ३३, मल्पी स्वास्थ्य चौकीले ३३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । कार्यक्रम पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
नगर स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले कार्यक्रम सबै वडामा प्रारम्भ भइसकेको र ज्येष्ठ नागरिकले सेवा लिँदा खुसी पाइएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा तीन चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो । यस वर्षको कार्यक्रममा आवश्यकतानुसार थप औषधिको समेत व्यवस्था गरिएको तिमल्सिनाले बताउनुभयो ।
शाखाका अनुसार नगरले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणसँगै प्रत्येक महिना दुईपटक मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ । महिनाको पहिलो शनिबार कुशादेवी र दोस्रो शनिबार पनौती स्वास्थ्य चौकीमा यो क्लिनिक सञ्चालन गर्ने गरिएको छ ।
यसैबीच बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई आजदेखि कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ । आवश्यकता पहिचान गरिएका ६० बर्षभन्दा माथिका स्थानीय नागरिकको निःशुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो ।
नगरले दाँत नभएका नागरिकको पहिचानका लागि आजदेखि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनोट भएका सबैलाई निःशुल्क दाँत राखिदिने योजना बनाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले बताउनुभयो ।
शिविरबाट लागत अनुमान गरी सोहीअनुसार कोटेशन/बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ । “जेष्ठ नागरिकको सम्मानको लागि यस किसिमको कार्यक्रम गर्न लागेका हौँ”, नगर प्रमुख शान्तिरत्न शाक्यले भन्नुभयो । उहाँका अनुसार कार्यक्रमले नगरका ६० वर्षभन्दा माथिका नागरिकमा खुसी देखिने अपेक्षा गरिएको छ । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
